'राष्ट्रिय मावि आइडल’ मा सेमिफाइनलका लागि २७ जना विद्यार्थी छनोट

मंगलबार, १८ कार्तिक २०८२

इटहरी : शिक्षाको काम सिकारु वा बालबालिकामा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउनु हो । प्रतिभाको पहिचान गरी प्रस्फुटन गराउने काम शिक्षकको हो । 

यसै क्रममा इटहरी वडा नं। १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता चलिरहेको छ ।  गायन, नृत्य, साहित्यलगायतका विधामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने दृढताका साथ चलिरहेको आइडल प्रतिस्पर्धाको मंगलबार भएको क्वाटर फाइनलको सेलेक्सन चरणमा २७ जना विद्यार्थी छनोट भएका छन् । 

गायनमा १७ जनामध्ये ११ जना छानिएका छन् । यस्तै, नृत्यमा १४ जनाबिच भएको प्रतिस्पर्धामा ६ जना छानिएर सेमिफाइनलमा पुगेका छन् । साहित्यतर्फ १५ जनामा १० जना छानिएको दिवा सत्रको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक युवराज काफ्लेले बताए । उनका अनुसार सेमिफाइनल चरणको प्रतिस्पर्धा कार्तिक २८ गते र फाइनल प्रतिस्पर्धा मंसिर १२ गते विद्यालयको वार्षिकोत्सवको पूर्व सन्ध्यामा गरिनेछ । विद्यालयको वार्षिकोत्सव हरेक वर्षको मंसिर १३ गते मनाइने गरिन्छ । 

विद्यालय सञ्चालक समितिका अध्यक्ष कोविदजंग कार्कीको प्रमुख आथित्यतामा भएको क्वाटर फाइनलको आइडल छनोट विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतको सभापतित्वमा भएको थियो । सो क्रममा अध्यक्ष कार्कीले विद्यालयको वार्षिक नीति तथा कार्यक्रममा प्रतिभा पहिचान कार्यक्रम गर्ने योजना अनुसार नै कार्य भएकाले गर्दा विद्यार्थीलाई थप आत्मविश्वासी र सिर्जनात्मक बनाएको बताए ।

विद्यालयका प्रधानाध्यापक बस्नेतले इटहरी क्षेत्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक यस्तो आइडल प्रतिस्पर्धा गरिएको बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार