धरान : नेपाली कांग्रेसभित्र रूपान्तरण र महाधिवेशनको विषयमा चलिरहेको देशव्यापी बहसको क्रममा धरानमा आयोजित समसामयिक संवाद कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीमा गहिरो रूपान्तरणको आवश्यकता औंल्याएका छन्।
उनीहरूले पार्टीमा हुने नेतृत्व परिवर्तन सर्पले कांचुली फेरेजस्तो मात्रै नभई झुसिलकिराबाट पुतली बनेजस्तो आमूल रूपान्तरण हुनुपर्नेमा जोड दिए। नेताहरूले पार्टीको विधान, संरचना, नीति, कार्यक्रम र मूल्य मान्यतामा समयसापेक्ष सुधार र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याए।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले कार्यकर्ताहरूका विचार र सुझावलाई सान्दर्भिक र स्वागतयोग्य भन्दै ती विषय केन्द्रीय स्तरमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
विश्वकर्माले जेनजी प्रदर्शन र पछिल्लो असहज राजनीतिक अवस्थाबारे पनि चर्चा गर्दै निर्वाचन नै लोकतान्त्रिक निकासको एकमात्र माध्यम भएको बताए। उनले भने, “निर्वाचनले महाधिवेशनलाई र महाधिवेशनले निर्वाचनलाई असर नगर्ने गरी कार्यतालिका बनाउने गृहकार्य भइरहेको छ।”
कार्यक्रममा कोशी प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सदस्य किशोर राई, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, धरान नगर उपसभापति तथा संसदीय दलका नेता नरेन्द्रकुमार राई (प्रविन), प्रजातान्त्रिक विचार समाजका प्रदेश अध्यक्ष डा. जीवनकुमार राई, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नाल, क्षेत्रीय प्रवक्ता केशव पुरीलगायतका नेताहरूले विचार व्यक्त गरे।
कार्यक्रमले मतदाता नामावली अद्यावधिक, कार्यकर्ताको मनोबल अभिवृद्धि, संगठन सुदृढीकरण र तोडफोड भएको धरानस्थित पार्टी कार्यालय पुनर्निर्माण गर्ने निर्णय पनि गरेको छ।
सो अवसरमा पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेशसभा सदस्यहरू, भातृ–शुभेच्छुक संगठनका प्रतिनिधि तथा विभिन्न तहका पार्टी पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया