थ्री नेसन्स कपमा नेपाललाई सान्त्वना जित, सावित्राको दुई गोलमा भारत पराजित

सोमबार, १० कार्तिक २०८२

काठमाडौं : स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सान्त्वना जित हात पारेको छ। सोमबार शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा भएको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो।

यसअघि नै इरानले भारत र नेपाल दुवैलाई हराउँदै प्रतियोगिताको उपाधि जितिसकेको थियो। नेपालले भने अन्तिम खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै जितसहित अभियान समाप्त गरेको हो।

नेपालका लागि सावित्रा भण्डारीले दुवै गोल गरिन्। खेलको दोस्रो मिनेटमै डिफेन्स लाइनबाट आएको लामो क्रसमा साम्बाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। त्यसपछि दोस्रो हाफको ६३औं मिनेटमा उनले सिधै फ्रिककबाट अर्को गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्।

भारतका लागि करिश्मा सिरभोकरले ८१औं मिनेटमा एक गोल फर्काइन्। निर्मला देवीको फ्रिककमा आएको बल नेपाली डिफेन्डरको गल्तीबाट करिश्मासम्म पुग्दा उनले गोल गरेकी थिइन्।

तर, त्यसपछि खेलमा भारत फर्किन सकेन र नेपालले सहज जित हात पार्‍यो। यस जितसँगै नेपालले प्रतियोगिता सान्त्वना नतिजासहित समाप्त गरेको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार