जेन–जी झट्का: वाम गठबन्धन चर्कियो, कांग्रेस सत्ता–सङ्घर्षले थिलथिलो !

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौँ : जेन–जी आन्दोलनपछि नेपालको वाम राजनीति फुटाफुट र पुनः एकीकरणको चरणमा प्रवेश गर्दा नेपाली कांग्रेस भने महाधिवेशन कार्यतालिकालाई लिएर गम्भीर विवादमा अल्झिएको छ ।

संस्थापन र इतर पक्षबिच १५औँ महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक नै लगातार स्थगित भइरहेको छ । पुसमै महाधिवेशन गर्नुपर्ने इतर समूह र निर्वाचनपछि मात्र सम्भव हुने संस्थापन पक्षको अडानले काङ्ग्रेसभित्र शक्ति–सङ्घर्ष चर्किँदै गएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)सहित नौ दलबीच एकीकरणको सहमति जुटाएपछि माओवादीका उपमहासचिव जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायतका नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन् ।

उता, नेपाली काँग्रेसमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिकामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित संस्थापनइतर नेताहरूले असहमति जनाइरहेका छन् ।

यतिबेला नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत दलहरू औपचारिक रूपमा विभाजन भई पुनः एकता र ध्रुवीकरणको प्रक्रियामा छन् ।

काँग्रेसमा १५औँ महाधिवेशनको मिति निर्धारणलाई लिएर विवाद चर्किँदै गएको छ । तीन सातादेखि जारी केन्द्रीय समितिको बैठक सहमति नजुटेकै कारण स्थगित हुँदै आएको छ । मङ्गलवार फेरि बैठक बस्ने भनिए पनि सहमति नजुट्दा बैठक लम्बिएको छ ।

संस्थापन पक्षले २१ फागुनको आम निर्वाचनपछि नियमित महाधिवेशन गर्ने अडान लिएको छ भने संस्थापनइतर नेताहरूले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि सहमतिविहीन रह्यो । नियमित महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्ने र यदि त्यसो गर्न नसकिए विशेष महाधिवेशनमा जानुपर्ने धारणा डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूले राखेका छन् ।

तर कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षले निर्वाचनअघि नियमित महाधिवेशन सम्भव नभएकाले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान दोहोर्‍याइरहेका छन् । यही विषयमा टसमस नहुँदा सहमति टुङ्गिन सकेको छैन ।

सहमति भए–नभएकोबाहेक मङ्गलवारको केन्द्रीय समिति बैठक बस्ने र निष्कर्षमा पुग्ने महामन्त्री शर्माले बताएका छन् । नियमित महाधिवेशन कार्यतालिका नआएपछि बैठक बहिष्कार गरेका महामन्त्री थापा पनि यसपटक सहभागी हुने जनाइएको छ । गत बिहीबार तालिका नआएपछि थापा बैठकमा अनुपस्थित भएका थिए ।

सोमबार धोबीघाटमा ‘वान–टु–वान’ र समूहगत छलफल हुँदै गर्दा संस्थापन र इतर दुवै पक्षले आ–आफ्नो अलग भेला पनि गरे । संस्थापन पक्षको भेला आनन्दभूमिमा भयो भने कोइराला समूहको भेला विशालनगरस्थित सम्पर्क कार्यालयमा बस्यो ।

कोइराला–थापा समूहले पुस १६ देखि १९ भित्र महाधिवेशन गर्नुपर्ने अडान राखेको छ भने संस्थापन पक्षले निर्वाचनपछि, सम्भवतः २०८३ वैशाख–जेठतिर महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । पुस महाधिवेशन प्रस्ताव आए संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्रराय यादवले वैशाख कार्यतालिकाको ‘काउन्टर प्रस्ताव’ ल्याउने तयारी छ ।

उता, विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर जुटाएका नेताहरूले सोमबार डा. कोइरालालाई भेटेर विशेष महाधिवेशनको पक्षमा स्पष्ट रूपमा उभिन दबाब दिएका छन् ।

यसबीच, काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले दुई महामन्त्री थापा र शर्माले पार्टीलाई अनिर्णयमा राखेको आरोप लगाएका छन् । उनले पार्टी कब्जा गर्ने रणनीति असफल बनाउन आफूहरू प्रतिबद्ध रहेको दाबी गरेका छन् । निर्वाचन प्राथमिक विषय भएकाले पहिले निर्वाचन निर्णय गर्नुपर्ने उनको तर्क छ ।

कोइराला–थापा समूहका नेताहरू भने निधिलगायत पूर्वपदाधिकारीहरू — गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, प्रकाशरण महत, शशाङ्क कोइरालामाथि महाधिवेशन टार्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार