झापा : मोरङसहित देशका अधिकांश ठाउँमा मानिसलाई विभिन्न प्रलोभनमा पार्दै ठगीमा सक्रिय देवेन्द्र बस्नेतले झापा र मोरङका अलग–अलग दुई व्यक्तिलाई एउटै टिपर देखाएर ठगी गरेको खुलेको छ ।
नातामा आफ्नै मामा ससुरा पार्ने बस्नेतले मोरङको पथरीशनिश्चरे–२ निवासी अनिता खतिवडा र झापाको चन्द्रगढी निवासी हिमाल ओलीलाई एउटै टिपर देखाएर ठगी गरेको पीडितको भनाइ छ । बस्नेतले आयसर ब्रान्डका टिपर आफूहरूलाई बिक्री गर्दै ठगी गरेको उनीहरूको दाबी छ ।
बतास इन्भेस्टमेन्ट कम्पनी प्रालि काठमाडौँबाट फाइनान्स गरी लिएको आयसर टेरा १६ को१ख ६३४३ र को १ ख ६३४६ नम्बरको टिपर आफूहरूले सुरुमा मासिक एक लाख २५ हजार रुपैयाँ बुझाउने शर्तमा लिएको र पछि उक्त टिपर आफूहरूले खरिद गरेको खतिवडाको भनाइ छ ।
सुरुमा हामीले नातामा आफ्नै मामा ससुरा पर्ने बस्नेतबाट दुई वटै टिपर २०७७ साल असोज १ गते लिएका थियौँ– अनिताले भनिन्– पछि उहाँले ती दुई वटै टिपर झापा चन्द्रगढीका हिमाल ओलीलाई ३५ लाख रुपैयाँमा बिक्री गर्नु भएछ । आफूहरूबाट समेत ५७ लाख रुपैयाँ लिएका बस्नेतले आफ्ना नाममा टिपर पास गर्नुको सट्टा सो टिपर लगियो ।
एनआईसीएशिया बैङ्कले मेरो घर पनि लिलाम ग¥यो , गाडी पनि तानेको छ, मलाई बचाई दिनु प¥यो भन्दै उहाँ रुँदै कराउँदै आएपछि आफ्ना श्रीमान् पनि विदेशबाट भर्खर आएकाले उहाँसँगको सल्लाहमा सुरुमा ११ लाख रुपैयाँ कम्पनीलाई बुझाएर दुई लाख गाडी मर्मत गर्न खर्च गरेर टिपर लगेका थियौँ– अनिताले भनिन्– एक लाख २५ हजार रुपैयाँ किस्तामा तिर्ने शर्तमा हामीले मामा ससुराको टिपर खरिद गरेका थियौँ ।
आठ महिनासम्म राम्ररी हामीले गाडी चलायौँ । आठ महिनापछि बतास कम्पनीले कुदिरहेको गाडी बाटोमा रोक्यो– उनले भनिन्– कारण बुझ्दा देवेन्द्र बस्नेतले बतास कम्पनीलाई १८ लाख रुपैयाँ तिर्न बाँकी रहेछ । त्यो तिर्नुभन्दा हामीले अर्को गाडी निकालेर चलायौँ ।
सुरुमा हामीले १३ लाख रुपैयाँ तिरिसकेका थियौँ । पछि आठ किस्ता नियमित हाल्यौँ । त्यसपछि पुनः एकै पटक १८ लाख रुपैयाँ दिनु भन्दा हामीले अर्को गाडी निकाल्यौँ, अनिताले भनिन्– मामा ससुराको भर पर्दा पैसा त गुम्यो नै गाडी पनि हामीले गुमायौँ ।
मामाको पुरानो किस्ताका कारण दुई वटै टिपर कम्पनीले लग्यो– उनले भनिन्– गाडी कम्पनीले लगे पनि मामा हाम्रोमा आउने–जाने क्रम चलिरहेको थियो, सो क्रममा मेरा श्रीमान् नवराज खतिवडालाई ५७ लाखमा गाडी बेचेको भन्दै मेरो चेक चोरेर लानुभयो ।
चेकमा त्यत्रो धेरै पैसा नभएपछि तीन पटक बाउन्स गर्दै मामाले मलाई जिल्ला अदालत मोरङमा मुद्दा हाल्नुभयो– अनिताले भनिन्– यदि ५७ लाख रुपैयाँको चेक काटिएको छ र पटक–पटक बैङ्क जाँदा पनि चेक साटिएन भने एक पटक त मलाई बैङ्कले खबर गर्नुप¥यो नि ? बैङ्कले पनि मलाई जानकारी गराएन र एकै पटक अदालतबाट तामेल आउँदा मात्रै मलाई थाहा भयो कि म विरुद्ध मामा ससुराले कत्रो खेल खेल्नुभएछ ।
गाडी अहिले कम्पनीमा छ, मुद्दा मैले खेपिरहेकी छु, देवेन्द्र बस्नेत फरार छन् म अन्यायमा परेकाले मलाई न्याय दिलाई दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु– अनिताले भनिन्– यो देवेन्द्र बस्नेतले मलाई मात्र होइन धेरैलाई यसैगरी प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गर्दै आइरहेकाले सचेत रहन म आम नागरिकलाई समेत आग्रह गर्दछु ।
आफूले खरिद गरेका दुई वटा गाडी आफूलाई पास गरिदिए आफू ५७ लाख रुपैयाँ दिन तयार भएको अनिताले बताएकी छिन् । देवेन्द्र बस्नेत फरार रहेकाले अहिले आफू घरको न घाटको भएको उनको भनाइ छ ।
बस्नेतले आफूलाई पटक–पटक केस मिलाई दिने आश्वासन दिँदै २०८० साल भदौसम्म झुक्क्याएको उनको भनाइ छ । आफूलाई पटक–पटक व्ल्याकमेल गर्दै बस्नेतले बिचमा थप डेढ दुई लाख रुपैयाँसमेत लगेको उनको भनाइ छ ।
२०८० साल भदौमा उनलाई मैले अन्तिम पटक थप ३० हजार रुपैयाँ पैसा दिएकी थिएँ– अनिताले भनिन्– सहज रूपमा केस मिल्छ भने ३० हजारको मुख हेर्दिनँ, नातामा आफ्नै मामा ससुरा हुन् भन्दै आएकी थिएँ । तर, उनी नम्बरी ठग रहेछन् । अहिले यही मलाइ समस्यामाथि समस्या थपिएको छ ।
बस्नेतले सोही नम्बर (को१ख ६३४३ र को१ख ६३४६)का गाडी झापा चन्द्रगढीका हिमाल ओलीलाई ३५ लाखमा बिक्री गरेको पाइएको छ । हिमाल ओलीले फाइनान्सको किस्ता तिर्ने गरी टिपर लगेको बताइएको छ । बतास इन्भेस्टमेन्ट फाइनान्स कम्पनीबाट आंशिक रूपमा ऋण तिरेर टिपर लिएको हुँ– ओलीले भने ।
यता यस विषयमा बस्नेतसँग जानकारी लिन खोज्दा उनी सम्पर्क बाहिर रहेकाले उनीसँग सम्पर्क हुन सकेन । बस्नेतबाट पीडित भएकाहरूले संर्घष समिति नै गठन गरे पनि उनको ठगी धन्दा रोकिएको छैन । पछिल्लो समय मोरङको बूढीगंगाका योगेन्द्र बस्नेतलाई समेत उनले ठगी गरेको बताइन्छ ।
नातामा काका पर्नुहुन्छ– योगेन्द्रले भने– झापामा आफ्नो फर्निचर व्यवसाय रहेको र त्यो फर्निचरको सामग्री मोरङमा ल्याएर बेच्नुपर्छ भन्दै सुरुमा सामान ल्याएको र आफैँ बिक्री गर्दै लगेको र केही रकम दिने गरेका थिए । पछि सर्लाहीमा होटल खोल्छु भन्दै आफ्नो कम्पनीबाट देवेन्द्र आफैँले भ्याट बिल काटेर सामान लगेको उनको भनाइ छ ।
सुरुमा बस्नेतले मेरो कम्पनीमा जति लगानी गरेका छन् त्योभन्दा धेरै सामान लगे– उनले भने– हुँदा हुँदा मेरो चेक लगेर मलाई उल्टै मुद्दा हालेका छन् ।
सुरुमा उनले प्राइम बैंकको चेक चोरेर २२ लाख रुपैयाँ र पछि एनआईसीएशिया बैंकको चेक चोरेर ५५ लाख रुपैयाँको माग दाबी गर्दै आएका छन् । एउटै फर्ममा काम गर्ने भएपछि सबै विवरण उसलाई थाहा थियो– उनले भने– सुरुमा मेरो खातामा पैसा डिपोजिट गर्ने र निकाल्ने कामसमेत गरेकाले मेरो चेकको हस्ताक्षर समेत गर्न सक्ने भएका रहेछन् ।
पछि दुई वटा चेक लगेर मलाई नै उल्टै मुद्दा हालेर उनी फरार छन् । जसका कारण म अहिले समस्यामा परेको छु– योगेन्द्रले आएर आफ्नो दुखेसो पोख्दै भने– अहिले बुझ्दै जाँदा मलाई मात्र होइन उनले धेरैलाई यसैगरी ठगी गरेका रहेछन् ।
त्यसो त बस्नेतले झापाको बाह्रदशीका झन्डै धेरै स्थानीयलाई सहकारीमार्फत ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन् । बाह्रदशी गाउँपालिकामा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको ५० लाख रुपैयाँ हिनामिना गर्दै उनी फरार भएका छन् ।
जसका कारण नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोग गर्दै उनी फरार भएपछि २२ जना स्थानीयको जमिन रोक्का भएको छ ।
त्यस्तै झापा चन्द्रगढीका अन्य स्थानीयलाई समेत ठगी गरेपछि उनीबिरुद्ध प्रहरीमा उजुरीको चाङ छ । उनीबिरुद्ध पक्राउ पूर्जी जारी भए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
स्रोतका अनुसार ठगी प्रकरणमा संलग्न बस्नेत विरुद्ध ५३ वटा मुद्दा छन् । उनले अधिकांश सर्वसाधारणका चेक चोरी गरेको र घर जग्गा जालसाजी गर्दै करोडौँ रुपैयाँ ठगी गरेको बताइएको छ ।
प्रतिक्रिया