एकपछि अर्को जुवाको खाल उठाउँदै झापा प्रहरी, रास्वपा नगरसभापति समेत पक्राउ

आइतबार, १६ कार्तिक २०८२
तस्बिर : फाइल

झापा । झापामा प्रहरीले लगातार दुई दिनभित्र दुई फरक स्थानमा छापा मार्दै जुवा खेल्ने समूह पक्राउ गरेको छ । एकपछि अर्को कारबाहीमा प्रहरीले गौरादह र बिर्तामोड क्षेत्रमा तास खेल्दै गरेका २५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौरादह नगरसभापति समेत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार राति गौरादह नगरपालिका–५ स्थित स्कूलचोक बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । उक्त छापामा होटल सञ्चालकसहित १६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट रु. १ लाख ६ हजार ६ सय २० रुपैयाँ नगद बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमध्ये रास्वपा गौरादह नगरसभापति जगत अधिकारी रहेका छन् । प्रहरीले जानकारी दिएको अनुसार पक्राउ परेकामध्ये विनोद अधिकारी भने यसअघि गत भदौ २४ गतेको तोडफोड र आगजनी घटनामा समेत संलग्न रहेका थिए ।

गौरादहमा पक्राउ परेकाहरूमा रास्वपा गौरादह–४ का वडा सभापति युबराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन व्यवसायी), राम फुँयाल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र दिलबहादुर मगर रहेका छन् ।

यसअघि कात्तिक १४ गते (शुक्रबार राति) बिर्तामोड–४ मा रहेको बाह्रदशी गाउँपालिका–४ का राजु कुमार साहको डेरामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । बिर्तामोडमा पक्राउ परेकामध्ये बिर्तामोड–२ का रतन राजवंशी (३८), बिर्तामोड–३ का डम्बर बस्नेत (४०), बिर्तामोड–५ का राजेन्द्र चौधरी (३६), बिर्तामोड–४ का किशोर पराजुली (२६), उत्तम शिवाकोटी (४३), राजन थापा (४३), दिवाकर प्रासाई (४०), बाह्रदशी–४ का राजु कुमार साह (२९) र मेचिनगर–२ का नारायण पराजुली (२८) रहेका थिए ।

बिर्तामोडमा पक्राउ परेकाको साथबाट प्रहरीले रु. ७५ हजार ६ सय नगद र आठ बुँग तास (७ सिलप्याक, १ खोलेको) बरामद गरेको थियो ।

दुबै घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको जुवा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीका अनुसार जिल्लाभर जुवाको गतिविधि बढ्दै गएपछि हाल निगरानी र नियन्त्रण अभियानलाई कडा पारिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार