जेठमा बनाउने असारमा भत्किने होइन, समयमै काम गर्ने र समयमै सिद्ध्याउने संस्कृति अपनाउनुपर्छ - मुख्यमन्त्री कार्की

शुक्रबार, १८ पुस २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सडक तथा भौतिक पूर्वाधार निर्माण दीर्घकालसम्म टिक्ने र बलियो हुने गरी गर्नुपर्नेमा जोड दिएका छन्। विराटनगरमा सिमेन्ट उत्पादक सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साना–साना प्रलोभनमा परेर निर्माणमा कमजोरी गर्ने प्रवृत्तिका कारण दिगो विकास सम्भव नभएको उल्लेख गरे।

पूर्वाधार निर्माणमा स्वदेशमै उत्पादन हुने कच्चा पदार्थको प्रयोग बढाउनुपर्ने भएकाले अबको विकास मोडेल दीर्घकालीन संरचना निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। जेठ महिनामा पिच गरेर असार नलाग्दै भत्किने सडक निर्माण शैली अब स्वीकार्य नहुने उल्लेख गर्दै उनले सिमेन्टको प्रयोगबाट टिकाउ सडक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता बताए। “जेठमा बनाउने र असारमा भत्किने होइन, समयमै काम गर्ने र समयमै सिद्ध्याउने संस्कृति अब अपनाउनुपर्छ,” मुख्यमन्त्री कार्कीले भने।

कोशी प्रदेश सरकारले प्रदेशमै उत्पादन हुने कच्चा पदार्थ प्रयोग गर्ने नीति ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले यस वर्षदेखि सरकारी कर्मचारीको पोसाक पनि स्थानीय उत्पादनकै प्रयोग गर्ने तयारी भइरहेको बताए। सङ्घीय सरकारले तोकेको रकममा प्रदेश सरकारले थप बजेट विनियोजन गरी स्थानीय उत्पादन प्रयोग गर्ने व्यवस्था लागू गरिने उल्लेख गरे। नकारात्मक सोच परित्याग गर्दै सकारात्मक भावना विकासमार्फत विकास, निर्माण र समृद्धितर्फ उन्मुख हुनु आजको आवश्यकता रहेको उनले बताए।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव अर्जुन जङ्ग थापाले सिमेन्टको प्रयोगबाट निर्माण गरिएका सडक संरचनाको टिकाउपन र दीर्घकालीनता विषयक कार्यपत्र पेस गरेका थिए। उनका अनुसार नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग रहेका छन् र उत्पादन बढ्दै गएसँगै नेपाल आन्तरिक खपतमै आत्मनिर्भर हुँदै निर्यात सक्षम देश बन्ने चरणमा प्रवेश गरिसकेको छ।

नेपाल उद्योग वाणिज्य कोसीका प्रतिनिधिहरूले विश्वभर सिमेन्टबाट सडक निर्माणको प्रविधि स्थापित हुँदै गएको चर्चा गर्दै उत्पादन वृद्धि र प्रविधिको प्रभावकारी कार्यान्वयनमा जोड दिए। कार्यक्रममा कोशी प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत इन्जिनियरहरूको सहभागिता रहेको थियो। सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले सिमेन्टको प्रयोगमार्फत कसरी टिकाउ र बलियो सडक संरचना निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको जानकारी दिएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार