बालबालिकालाई दिन तयारी परिएको खोप म्याद गुज्रेको भेटियो

मंगलबार, १८ कार्तिक २०८२

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–९, डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिस (JE) खोप काण्ड बाहिरिएको छ ।

१२ महिना देखि २३ महिना उमेर समूहका बालबालिकालाई लगाउन राखिएको खोप म्याद सकिएको फेला परेपछि खोप कार्यक्रम तत्काल रोकिएको छ ।

कार्तिक १७, १८ र १९ गतेका दिन सञ्चालन गर्न तय गरिएको खोप अभियानका लागि चन्द्रपुर अस्पतालबाट ल्याइएका खोपको म्याद गुज्रिएको भेटिएको हो ।

भ्याक्सिनको म्याद अङ्ग्रेजी मिति २०२५ नोभेम्बर १ मा सकिएको थियो, तर त्यसको चार दिनपछि बालबालिकालाई लगाउने तयारी भइरहेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले कर्मचारी तहबाट गल्ती भएको स्वीकार गर्दै छानबिन गरिने बताए ।

“यस्तो लापरबाही अस्वीकार्य छ,” उनले भने, “अस्पतालमा म्याद नभएको खोप हुँदाहुँदै सकिएको ल्याउनु कर्मचारीको गल्ती हो ।”

वडा नं. ९ का वडाध्यक्ष नवराज देवकोटाले घटना अत्यन्त गम्भीर भएको बताउँदै दोषीमाथि कडा कारबाही हुने चेतावनी दिए ।

“यो बालबालिकाको स्वास्थ्यसँग जोडिएको विषय हो, बैठक बसेर कडा निर्णय गर्छौँ,” उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णका अनुसार प्रदेश कार्यालयबाट आएको जेई खोपको म्याद २०२६ अप्रिलसम्म छ । तर चन्द्रपुरमा भेटिएको म्याद नाघेको खोप ‘उदाहरणीय लापरबाही’ को घटना भएको उनको भनाइ छ ।

चन्द्रपुर नगर प्रमुख सञ्जय काफ्लेले पनि घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै आवश्यक कारबाही हुने जनाएका छन् ।

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार