वराहक्षेत्रका बाढीपीडितलाई स्वास्थ्य उपचारसँगै राहत वितरण

बुधबार, २२ असोज २०८२

धरान । गत असोज १७ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले वराहक्षेत्र नगरपालिकामा ठूलो क्षति पुर्‍याएपछि अहिले प्रभावित परिवारहरूलाई उद्धार, राहत वितरण र स्वास्थ्य उपचार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ।

नगर प्रमुख रमेश कार्कीका अनुसार विशेष गरी वराहक्षेत्र नगरपालिका–३, ४, ६, ९, १० र ११ का बस्तीहरू बाढीले बढी प्रभावित भएका छन्। “नगर क्षेत्रभित्र करिब ३ सय घरपरिवारमा बाढी पसेर जनजीवन प्रभावित भएको छ,” नगर प्रमुख कार्कीले भने । उनले वराहक्षेत्र–४ र ११ का बासिन्दा बढी क्षतिग्रस्त भएको जानकारी पनि दिए।

वराहक्षेत्र–११ का बासिन्दालाई बाढीका समयमा उद्धार गरी स्थानीय जनता माध्यमिक विद्यालय र कार्यपालिका सदस्य पङ्कज महत्तोको घरमा अस्थायी आवासको व्यवस्था गरिएको थियो। अहिले पानी सुक्दै गएपछि उनीहरू आफ्नै घर फर्किन थालेका छन्। उद्धार तथा राहत कार्यमा नगर प्रमुख कार्की, वडाध्यक्षहरू, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुवरलगायतको सक्रिय सहभागिता रहेको उनले बताए।

नगरपालिकाले प्रभावित क्षेत्रहरूमा खाद्यान्न वितरणसँगै स्वास्थ्य सेवा, औषधि वितरण, सरसफाइ तथा सुरक्षित खानेपानीका कार्यक्रम सञ्चालन गरिरहेको छ। वराहक्षेत्र–६ ठाकुरवारीका बाढीपीडितलाई नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा खाद्यान्नसँगै त्रिपाल वितरण गरिएको छ।

त्यसैगरी, वडा नम्बर ४ प्रतापपुरका १ सय २१ परिवारलाई चामल, तेल, भुजा, बिस्कुट, औषधीलगायत राहत सामग्री वितरण गरिएको छ। स्वास्थ्य समस्या बढेपछि हैजा, झाडापखाला र सरुवा रोग देखिएको भन्दै नगरपालिकाले स्वास्थ्यकर्मी टोली परिचालन गरी उपचार र औषधि वितरण गरेको नगर प्रमुख कार्कीले बताए।

नगर प्रमुख कार्कीले भने, “वराहक्षेत्र–११ स्थित मधुवन क्षेत्रमा बढी क्षति पुगेको थियो। हामी सबै प्रभावित क्षेत्रमा राहत वितरणको अभियानमै छौं।”

तीन दिन लगातारको वर्षाका कारण वराहक्षेत्रमा सडक, बिजुली र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। विशेष गरी वडा नम्बर १ स्थित कोशीपुल–वराहक्षेत्र सडकखण्डमा पहिरो खसेपछि चार दिनसम्म यातायात ठप्प भएको थियो। हाल विद्युत्, खानेपानी र इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको नगर प्रमुख कार्कीले जानकारी दिए।WhatsApp Image 2025-10-08 at 1.07.17 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार