कोशी प्रदेश सरकारले बाढी पहिरो पीडितको घर बनाइदिने

बुधबार, २२ असोज २०८२

विराटनगर। कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी र पहिरोका कारण भत्किएका तथा बगाइएका सबै घरहरू पुनर्निर्माण गरिदिने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले पीडित परिवारका सबै घर पुनःनिर्माण गर्ने निर्णय गरेको हो।

बैठकले विपद्‌बाट सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङका घरहरू तत्काल निर्माण कार्य सुरु गर्ने निर्णय गरेको छ। बैठकले घरहरूको विस्तृत विवरण संकलनसँगै पुनर्निर्माण कार्यलाई समानान्तर रूपमा अघि बढाउने जनाएको छ।

त्यस्तै, इलाम जिल्लाका सातवटा पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि आजको परिषद् बैठकले गरेको छ।

प्रदेश सरकारले राहत र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउनका लागि विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी तोकेको छ। इलाम जिल्लाको समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिइएको छ। सो टोलीले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछ।

सुनसरी जिल्लाका पुनर्निर्माण कार्यमा वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गर्नेछन्। झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई पुनर्निर्माण तथा समन्वयको जिम्मेवारी दिइएको छ।

बैठकले चालु आर्थिक वर्षका खर्च तथा योजनाहरूको समीक्षा गरी आवश्यक खर्च कटौती गरेर पुनर्निर्माणमा केन्द्रित गर्न कोशी प्रदेश सरकारलाई सिफारिस गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई अवरुद्ध भएका सम्पूर्ण सडकहरू खुलाउन आफ्ना सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुनर्निर्माण र राहत कार्यमा कुनै कसर नराखी द्रुत रूपमा अघि बढाउन निर्देशन दिएका छन्। साथै, विपद्‌पीडितका सहयोगका लागि सम्पूर्ण नागरिक, उद्योगी–व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सक्रिय सहभागिता जनाउन आह्वान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार