धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थागत नियमावली विपरीत काम गर्ने पाँच कर्मचारीलाई बर्खास्त गरेको छ भने तीन जनामाथि विभागीय कारबाही गरेको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार बर्खास्तमा परेकामध्ये प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी, स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर लक्ष्मी सुवेदी र कर्मचारी दिलीप परियार, किरण भट्टराई तथा सुरेन बास्फोर रहेका छन्।
रजिस्ट्रार सङ्ग्रौलाका अनुसार उनीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लङ्घन र अनुशासनहीन व्यवहार गरेको पाइएको छ।
यसैगरी, हाडजोर्नी विभागका प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक–एक ग्रेड घटाउने गरी विभागीय कारबाही गरिएको छ।
सङ्ग्रौलाका अनुसार प्रतिष्ठानभित्र नियमविपरीत काम गर्ने अन्य चिकित्सक र कर्मचारीमाथि पनि छानबिन भइरहेको छ र नियमअनुसार आवश्यक कारबाही हुने छ।
रजिस्ट्रार सङ्ग्रौलाले हाल प्रतिष्ठानमा अनुशासन र नियमावलीको पालना सुनिश्चित गर्न कडाइ गरिएको बताए।
उनले भने, “पहिले यस्ता प्रक्रिया केही कम थिए तर अबदेखि नियम उल्लङ्घन र अनुशासनहीन व्यवहारमा अलिक कडा गरिएको छ। प्रतिष्ठानको नियमावलीमा जे लेखिएको छ, त्यसैअनुसार काम हुन्छ। कुनै पनि कर्मचारी वा शिक्षकलाई नियमविपरीत काम गर्न अनुमति दिइँदैन। यो नियमित प्रशासनिक प्रक्रिया हो। कसैले अनुशासन पालना नगरेमा सूचना दिइन्छ, चेतावनी दिइन्छ र आवश्यक परे कारबाही गरिन्छ। यो सबै प्रक्रिया संस्थाको नियमअनुसार चली नै रहन्छ। नियमअनुसार गरिएको कारबाहीमा कसले के गर्यो भनेर अदालतजस्तो बहस गर्नु आवश्यक छैन। प्रतिष्ठानले आफ्नो आन्तरिक नियमावलीअनुसार कारबाहीको निर्णय गरिएको हो।”
के भन्छन् बर्खास्त भएका रेग्मी ?
यसैबिच, बर्खास्तमा परेका प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्।
उनले भने, “मैले कुनै अनुशासन उल्लङ्घन गरेको छैन। मलाई बर्खास्त गर्नुअघि कुनै स्पष्टीकरण सोधिएको पनि छैन। मन्त्रालयले पठाएको पत्रमा स्पष्ट लेखिएको छ कि कुनै फ्याकल्टी सदस्यले बिदा मागेमा त्यो कार्यकारी समितिले निर्णय गर्नुपर्छ, तर कार्यकारी समितिबाट निर्णय नगराई रजिस्ट्रारले आफैँ मन्त्रालयसँग पत्राचार गरेका छन्।”
उनका अनुसार, रजिस्ट्रारले पत्रमा ‘मन्त्री परिषद् स्तरीय निर्णय भएकालाई मात्र काज दिन सकिन्छ’ भनी लेखिएको छ।
बर्खास्तीमा परेका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी र रेग्मीकी पत्नी लक्ष्मी सुवेदी
रेग्मीले भने, “मलाई हाजिर हुन पत्र काटिएको थियो, तर म तत्काल हाजिर हुन नसक्ने कारणसहित काज मिलाइदिनुहोस् भनी अपिल गर्दा उल्टै कारबाही अगाडि बढाइयो। अहिलेसम्म मलाई किन कारबाही गरिएको हो भन्ने स्पष्ट पत्र प्राप्त भएको छैन। म प्रतिष्ठानबाट दुई वर्षका लागि कार्यकारी समितिको निर्णयअनुसार काजमा सिभिल अस्पताल आएको हुँ। म यहाँ निर्देशकको हैसियतले होइन, बिदा स्वीकृत भएर आएको हुँ। यो अन्तर मन्त्रालय सहजीकरणबाट भएको प्रक्रिया हो। त्यसपछि थप बिदा माग्दा मलाई बर्खास्त गरिएको हो।”
रेग्मीका अनुसार, अध्ययन बिदा माग्दा प्रतिष्ठानले ३ महिनासम्म निर्णय दिन नसक्ने अनि आवश्यक परे पुनः फिर्ता बोलाउने भनी अध्ययन बिदा माग्दैमा बर्खास्त गर्नु अन्याय हो। रेग्मी हाल काठमाडौँस्थित सिभिल अस्पतालका निर्देशकका रूपमा कार्यरत छन्। उनी प्रतिष्ठानबाट दुई वर्षका लागि काजमा गएका थिए।
'इगो युद्ध’ र पदीय प्रतिस्पर्धा
तर, यो कारबाहीको वास्तविक जड भने ‘रजिस्ट्रार क्वाटर’ को कोठा विवाद र पुरानो वैमनस्यतासँग जोडिएको भन्दै रेग्मीले नै यसलाई ‘व्यक्तिगत बदला’को रूपमा वर्णन गरेका छन्।
ज्ञानेन्द्र गिरी उपकुलपतिका आफ्नै कार्यकालपछि रजिस्ट्रार बनेका रेग्मीले पाएको आधिकारिक क्वाटरमा नयाँ रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले दाबी गरेपछि चर्किएको विवाद अख्तियारसम्म पुगेको थियो।
रेग्मी र सङ्ग्रौलाबिचको मनोमालिन्य केवल कोठा काण्डमा मात्र सीमित नभएको स्रोत बताउँछ। रजिस्ट्रार पद हस्तान्तरणदेखि प्रशासनिक निर्णयसम्म ‘व्यक्तिगत एजेन्डा’ हाबी भएको आरोप लगाइन्छ।
प्रवक्ताको मौनता र संस्थाको कडाइको दाबी
सो विवादबारे प्रवक्ता अन्जु प्रधानले आफूलाई कारबाही बाहेक जानकारीमा नआएको बताइन् ।
स्वास्थ्य क्षेत्रका जानकारहरू भन्छन्—“प्रतिष्ठित संस्थामा पदीय अधिकार, आवास र व्यक्तिगत प्रतिष्ठाको प्रतिस्पर्धाले कार्य संस्कृतिलाई कमजोर बनाउँदै छ।”
प्रतिक्रिया