झापा : जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएका दुई थान पेस्तोलसहित पक्राउ परेका व्यक्ति नेपाली काँग्रेसका नेता विश्वदीप लिङ्देनका छोरा भएको खुलेको छ।
प्रहरीले लिङ्देनका छोरा सहित तीन जनालाई पक्राउ गरेको हो। उनीहरूलाई दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ गरिएको थियो।
पक्राउ पर्नेमा झापाको दमक–६, प्रशान्तीटोल बस्ने काँग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४, आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा छन्।
गएराति करिब ८:३० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इप्रका दमकबाट खटिएको टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठाबाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
उनको साथबाट ठुलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउन्ड गोली बरामद भएको ब्युरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको थियो।
इप्रका दमकमा सोधपुछ गर्दा पुरीले अर्को हतियार काँग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्व लिङ्देनकहाँ राखिएको बयान दिएका थिए। त्यसैको आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको हो।
थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली–४ बस्ने पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकार गरेका छन्।
पछि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो। त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठुलो चापे टाइप–५४ चाइनिज पेस्तोल एक थान तथा ५ राउन्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ।
बरामद दुवै हतियार र २० राउन्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
उल्लेखनीय छ, २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका विश्वदीप लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए।
दुई वर्षअघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको सदस्यमा मनोनयन गरेका थिए।
प्रतिक्रिया