काठमाडौं । काठमाडौंमा उत्पादन गरिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि कालीमाटी तरकारी बजारमा मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट १५ थरी तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक विषादी भेटिएको हो। समितिका अनुसार सो मात्रामा विषादी भेटिएको रायो साग मानव उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको छ।
सरकारले तय गरेको मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिए केही दिन सुरक्षित रूपमा राखेर मात्र उपभोग गर्न सकिने व्यवस्था छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिने गरिएको छ।
यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिँदै आएको थियो।
प्रतिक्रिया