काठमाडौँ । लण्डनस्थित संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा बुधबार त्यहाँका रक्षा राज्यमन्त्री एन्ड्रिउ मरिसन र नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेतको उपस्थितिमा भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोस्रो बैठक भएको छ।
लण्डनस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा गत ३ नोभेम्बरमा भएको समितिको पहिलो बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भयो।
यसअघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयहरुमा पुनः प्राविधिक तहको बैठक र सेप्टेम्बर महिनामा द्विपक्षीय समितिको अर्को बैठक बस्ने तय भएको छ।
राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न रक्षा राज्यमन्त्रीलाई अनुरोध गरे।
बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख दिलीप पौडेलले पनि नेपाल सरकारको तर्फबाट भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा आफ्नो विचार राखे।
भूपू गोर्खाहरुको तर्फबाट जुद्धबहादुर गुरुङ्गले सम्बोधन हुन बाँकी सबै मागहरुका बिषयमा विस्तृतमा आफ्नो धारणा राखे।बैठकमा नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारी सहभागी थिए।
Discussion about this post