विवेक मिश्र
मोरङ : एसियन हाइवेको मापदण्डअनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक खण्डमा काम धमाधम भइरहेको छ ।
काँकडभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६० किमी सडक मात्र ठेक्का लागेर काम सुरु भएको छ ।
सडक आयोजनाले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ । काँकडभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।
जसमा पूर्वी खण्डमा समग्रमा ३ प्रतिशत काम भइसकेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए । कूल ९५ दशमलव ७६० किमी सडक क्षेत्रभित्र साना र ठुला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् ।
पूर्वी खण्डमा २१ वटा पुल निर्माण हुनेछन् भने एक सय ४० वटा बक्स कल्भर्ट रहेका छन् । सोमध्ये पाइल फाउन्डेसन विधिबाट केर्खा खोला र कमल खोला पुल निर्माण भइरहेको र ८० वटा कल्भर्ट निर्माण जारी रहेको प्रमुख पन्तले बताए ।
पश्चिम खण्डमा माटो उपलब्धतामा खासै समस्या नभए पनि पूर्वी खण्डमा माटो उपलब्धतामा समस्या भइरहेको पूर्वी खण्डका आयोजना प्रमुख पन्तले बताए ।
“पूर्वी खण्डमा मात्र करिब १० लाख घन मिटर माटो आवश्यक रहेको र हालसम्म १० प्रतिशत मात्र माटो फिलिङको काम भएको छ”, पन्तले भने, “जेठ अन्तिमदेखि बर्खा लाग्ने हुँदा तीन महिनासम्म माटो झिक्न नमिल्ने भएकाले माटो उपलब्धता प्रक्रियामा स्थानीय निकायले चाँडै सहजीकरण खेल्नुपर्ने आवश्यकता छ ।”
पछिल्लो समय केही स्थानीय निकायले राजस्वको दर परिमार्जन गर्दा सडक निर्माणको पहिलो चरणको काम माटो फिलिङ प्रक्रियामा जटिलता सिर्जना हुनसक्ने पन्तले बताए । निर्माण ठेक्का लाग्नु अगाडिको निर्माण सामग्रीको राजस्व दर ठेक्कापछि फेरबदल पर्न गएमा त्यसले निर्माण व्यवसायमा पर्ने अतिरिक्त आर्थिक भारबापत क्षतिपूर्ति दाबी गर्न पाउने व्यवस्था रहेको पन्तले जानकारी दिए ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा स्तरोन्नति सुरु भएको हो । आयोजना निर्माणमा ३० करोड डलर लाग्ने अनुमान गरिएको छ ।
उनका अनुसार पूर्वी खण्डका पुलको जग निर्माण पाइलको काम २५ प्रतिशत पूरा भइसकेको छ । झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् ।
काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले हाल सो खण्डमा माटो फिलिङको काम भइरहेको बताए । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको उनको भनाइ छ ।
निर्माणका क्रममा कतिपय स्थानमा बिजुलीको खम्बा सार्ने र सडक निर्माणको कामसँगै गर्नुपर्ने हुँदा यो प्रक्रिया चाँडै अघि बढाउनुपर्ने प्रजापतिले बताए । सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाइएको छ ।
उनका अनुसार ठुला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ । साथै शून्यदेखि ४५ किमीसम्म, ४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव ७७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ । निन्दा, विरिङ, कन्काइ पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का प्रक्रिया पूरा भइसकेको छ । काम छिटो सम्पन्न गर्न अलगअलग टेन्डर आह्वान भएको प्रजापतिले बताए ।
तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुटाइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने प्रमुख प्रजापतिले बताए ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्स्ट्रक्सन चाइनिज कम्पनीले जोइन्डमा सडक निर्माण गर्नेछन् । हाल धमाधम ‘साइट क्लियरेनस’ भइरहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए ।
गत फेब्रुअरी २ बाट ठेक्का लागू भएको आयोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने, थप एक वर्ष त्रुटि सच्याउने अवधि र थप पाँच वर्ष मर्मत अवधिसमेतको ठेक्का लागेको सडक आयोजनाका इटहरी कार्यालयका प्रमुख प्रजापति बताउँछन् ।
Discussion about this post