एआई युगमा लोकतन्त्र: किन अपरिहार्य छ युवा नेतृत्व?

शनिबार, २७ मंसिर २०८२
  • केशव खतिवडा

आजको युग सूचना–प्रविधिका दृष्टिले चौथो औद्योगिक क्रान्ति-कृत्रिम बुद्धिमत्ता (एआई) को युग हो। सामरिक र आर्थिक हैसियतका आधारमा यो बहुध्रुवीय युग हो। श्रम, पुंजी, व्यापार र सेवालाई हेर्दा विश्वव्यापीकरणको युग हो। 

‘वल्र्ड सिस्टम थ्योरी’ का मान्यताअनुसार असमान (पेरिफेरी, सेमि–पेरिफेरी र कोर) संरचनाबाट निर्देशित विश्वव्यवस्थाको युग हो। आवागमन र बसोबासको हिसाबले डायस्पोराको युग हो। विज्ञानले अन्तरिक्ष अनुसन्धान, जिन प्रविधि, क्वान्टम कम्प्युटिङ्ग, न्युरो–साइन्स, कृत्रिम चेतना जस्ता क्षेत्रमा तिव्र अध्ययन र विकास गरिरहेको नवीन वैज्ञानिक क्रान्तिको युग हो। 

राजनीतिक प्रणालीको हिसाबले उन्नत लोकतन्त्र र आर्थिक उदारवादको युग हो। संकटका आधारमा भने यो पोलिक्राइसिसको युग हो। समग्रमा उत्तर–आधुनिक युग हो।

यस्तो बहुआयामिक र जटिल युगलाई बुझ्न र यसको अन्तरक्रियालाई सम्बोधन गर्न नेतृत्वका दृष्टिले युवा नेतृत्वको आवश्यकता अनिवार्यरूपमा देखिन्छ। यस लेखको उद्देश्य पनि यही हो-यस्तो जटिल युगमा युवा नेतृत्व किन अपरिहार्य छ ? युवा नेतृत्वविहीन आधुनिक लोकतन्त्र किन अपूर्ण हुन्छ ?

अहिलेको युगले एकातिर हरेक क्षेत्रमा तिव्र प्रगति गरिरहेको छ भने अर्कातिर आतंकवाद, लागुऔषध ओसार–पसार, बेरोजगारी, भोकमरी, महामारी, विपद्, आर्थिक मन्दी, क्षेत्रीय युद्ध, वातावरणीय विनाश, लैङ्गिक हिंसा, गृहयुद्ध, युवा विद्रोह र राजनीतिक परिवर्तनका आन्दोलनजस्ता बहुआयामिक संकटको सामना गरिरहेको छ।

यस्ता जटिल राष्ट्रिय–अन्तर्राष्ट्रिय सवाललाई बुझ्ने, विश्लेषण गर्ने र राष्ट्रिय हितका आधारमा समाधान खोज्न, वर्तमान बुझ्ने र भविष्यदृष्टि राख्ने युग–नायकका रूपमा युवा नेतृत्व अपरिहार्य हुन्छ। यस्ता गम्भीर समस्यामा अन्तरक्रिया गर्न र समाधान दिन आवश्यक ज्ञान, दृष्टिकोण र स्फूर्ति पुराना पुस्ताका नेतामा प्रायः हुँदैन।

त्यसैले उनीहरू यथास्थितिवादी बन्ने गर्छन्। तर लोकतन्त्र भने गतिशील व्यवस्था हो। यही गतिशीलता र पाका नेताको यथास्थितिवादी सोचबीच द्वन्द्व सिर्जना हुन्छ, जसले परिवर्तन अवरुद्ध गरिदिन्छ र मुलुक सधैं द्वन्द्वको चक्रमा फसिरहन्छ।

यिनै कारणले संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था “अन्तर–संसदीय संघ“ ले पछिल्ला वर्षमा सदस्य देशका संसदबीच संवाद, सहयोग र लोकतान्त्रिक अभ्यास सुदृढीकरणसँगै अन्तर्राष्ट्रिय विवादको कूटनीतिक समाधान, लैङ्गिक समानता, मानवअधिकार, युवा सहभागिता र लोकतान्त्रिक शासन सुदृढीकरणलाई विशेष प्राथमिकतामा राखेको छ। 

यसले प्रत्येक वर्ष youth participation in politics Report प्रकाशित गर्छ, जसले संसदमा युवा सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ, “राजनीतिमा बढी युवाको आवाजले लोकतन्त्रलाई अझ सबल बनाउँछ”, “जब युवा राजनीतिमा हुन्छन्, देशको भविष्य सुरक्षित हुन्छ” जस्ता नारासहित ।

संयुक्त राष्ट्रसंघले सन् १९८५ लाई ‘अन्तर्राष्ट्रिय युवा वर्ष’ का रूपमा मनाएको थियो भने प्रत्येक वर्ष १२ अगस्टलाई ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को रूपमा मनाइँदै आएको छ। यी सबै तथ्यले एकनासले पुष्टि गर्छ—युवा नेतृत्व र भूमिकासहितको सहभागिता आधुनिक लोकतन्त्रको आधार हो।

युवा नेतृत्वमा कस्ता विशेषता हुन्छन् ?
१. नवप्रवर्धन र सृजनशीलता – नयाँ सोच, नयाँ विचार, प्रविधिको ज्ञान र डिजिटल संवाद गर्ने सीप।
२. साहस र जोखिम लिन सक्ने क्षमता – कठिन परिस्थितिमा पनि छिटो, साहसिक र निर्णायक निर्णय लिन सक्ने शक्ति।
३. अनुकूलनशीलता – नयाँ प्रविधि, परिस्थिति र विचारसँग छिटो तालमेल मिलाउने क्षमता।
४. सहकार्य र समावेशिता – विविध जात, वर्ग, लिङ्ग, क्षेत्र, समुदायका मानिसलाई समेटेर सहकार्य गर्न सक्ने क्षमता।
५. इमान्दारिता र पारदर्शिता – भ्रष्टाचार र अनियमितताविरुद्ध स्पष्ट रूपमा बोल्ने तथा स्वच्छ र पारदर्शी व्यवहार।
६. ऊर्जाशील उत्साह – परिवर्तन गर्ने जोश, जागर, संकल्प र निरन्तर सक्रियता।
७. भविष्यदृष्टा – दीर्घकालीन सोच, मार्गचित्र र दायित्वबोध।
८. सामाजिक संवेदनशीलता – गरिबी, बेरोजगारी, लैङ्गिक असमानता, वातावरणीय संकट र सामाजिक द्वन्द्वप्रति संवेदनशीलता।
९. सकारात्मक दृष्टिकोण – समाजलाई प्रेरित गर्ने, समस्या समाधानमा आशावादी रहन सक्ने, समुदाय–संगठित गर्ने क्षमता।

यसैले युवा नेतृत्वले देशलाई समृद्ध, समाजलाई उत्तरदायी तथा लोकतन्त्रलाई बलियो र दिगो बनाउने सम्भावना अत्यधिक हुन्छ।

युवा नेतृत्वविहीन लोकतन्त्र किन अपूर्ण हुन्छ ?
लोकतन्त्रमा सबै पुस्ताको सहभागिता आवश्यक हुन्छ। लोकतन्त्रको आत्मा नै पुस्तान्तरण, समान अवसर र प्रतिनिधित्व हो। युवा राजनीतिक इन्धन हुन्—उर्जा, विचार, सिर्जनशीलता र दृढइच्छाशक्ति सहितका।

युवा नेतृत्वविहीन लोकतन्त्रः

यथास्थितिवादी बन्किन्छ

नवप्रवर्धन र सुधारको बाटो बन्द हुन्छ

नागरिक सहभागितामा कमी आउँछ

दलभित्रको लोकतन्त्र कमजोर पर्छ

राज्य–नागरिक दूरी बढ्छ

अन्ततः असन्तोष र बिद्रोह (जस्तै जेन–जेड बिद्रोह) जन्मिन्छ

राजनीतिक अस्थिरता कायम रहन्छ

राजनीतिमा युवालाई कसरी आकर्षित गर्ने ?
१. संविधान, कानुन र दलको विधानमा युवाका लागि निश्चित कोटा सुनिश्चित गर्नुपर्ने।
२. पार्टीभित्र आन्तरिक लोकतन्त्र र पुस्तान्तरण अनिवार्य बनाउनुपर्ने।
३. विद्यालय–विश्वविद्यालयमा नेतृत्व विकास, नागरिक शिक्षा, लोकतन्त्र र मानवअधिकार समावेश गर्नुपर्ने।
४. प्रविधिमैत्री युवालाई डिजिटल प्लेटफर्ममार्फत नीतिगत बहसमा संलग्न गरिनुपर्ने।
५. युवालाई जिम्मेवारीपूर्ण भूमिकामा अघि बढाएर युवामैत्री वातावरण बनाउनुपर्ने।
६. युवालाई सामुदायिक सेवा र सामाजिक अभियानमा सक्रिय गराउने।
७. “युवा नेतृत्वले लोकतन्त्रलाई जीवन्त बनाउँछ“ भन्ने अभियान सञ्चालन गर्ने।

यसैले युवा नेतृत्वविनाको लोकतन्त्र गतिशीलता र नवप्रवर्धनविहीन हुन्छ। युवा भविष्यका मात्र होइन—वर्तमानका निर्माणकर्ता पनि हुन्। त्यसैले युवा नेतृत्वविहीन लोकतन्त्र अधुरो र अपूर्ण लोकतन्त्र हो भन्ने स्वयंसिद्ध हुन्छ।

नेपालका राजनीतिक दलमा युवा नेतृत्वको अवस्था
नेपालका दलमा मतदाता र कार्यकर्ताका रूपमा युवाको उपस्थिति उल्लेखनीय भए पनि नेतृत्व तहमा भने अझै पनि ७० वर्ष नाघेका पुराना नेताको नै प्रभुत्व छ।

तल्ला तहमा केही युवानेता भए पनि उनीहरूको भूमिका स्वतन्त्र नेतृत्वभन्दा बढी “पुराना नेताको प्रविधिक सहयोगी” जस्तै देखिन्छ।

नेपाली काँग्रेसमा शेरबहादुर देउवाकै वर्चस्व कायम छ।

कम्युनिस्ट पार्टीहरूमा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, मोहन विक्रम सिंह, चित्रबहादुर केसीजस्ता दशकौँदेखि उस्तै नेताहरू हाबी छन्।

मधेशवादी दलहरूमा महन्त ठाकुर, राजेन्द्र महतोजस्ता नेताहरू नै नेतृत्वमा छन्।

एमालेका महासचिव शंकर पोखरेल युवा होइनन्, दोस्रो पुस्ताका भए पनि ओलीको छायाँझैँ देखिन्छ।

काँग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व परिवर्तनका लागि सक्रिय देखिए पनि निर्णायक ‘बिद्रोह’ गर्न नसकिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाको उपस्थिति बलियो भए पनि हाल पार्टी विघटनको समसामयिक संकटमा परेको छ।

समग्रमा, नेतृत्व हस्तान्तरणको संस्कार शून्यप्रायः छ, र यही समस्या नेपालको लोकतन्त्रको कमजोरी हो।

जेन–जेड बिद्रोहः पुस्तान्तरण र नेतृत्व दाबीको शंखघोष
गत भदौ २३–२४ गते भएको जेन–जेड बिद्रोह भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, माफियातन्त्र, दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको थियो।

जेन–जेड पुस्ता सतामुखी होइन-परिवर्तनमुखी छ। लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित छ। अब आवश्यक छ-राजनीतिक पुस्तान्तरणको निरन्तर प्रक्रिया।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार