विगत चार बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा औपचारिक रुपमा एकता भएपछि पक्ष विपक्षमा वहस भइरहेको छ ।
महेश कुमार श्रेष्ठ र डा.बद्री केसीले एकता सम्बन्धी १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा राखिएको अध्यक्षका दुईवटा कुर्सीबाट एकता महाधिवेशनको तयारी गरिरहेका छन् ।
संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको अध्यक्षद्वयको तयारी छ । एकतापछि भएका प्रगतिबारे अध्यक्ष महेशकुमार श्रेष्ठसँग गरिएकाे कुराकानी:
एनआरएनए एकतापछि अध्यक्षको कुर्सीमा हुनुहुन्छ, यसबीचमा के के गर्नुभयो ?
हामीले गरेको १० बुँदे सहमति भनेको छिटो भन्दा छिनो एकताको महाधिवेशन गर्ने भन्ने हो । एकताको महाधिवेशन गरेर नयाँ कार्य समितिलाई पदभार ग्रहण गराउने हो। त्यसका लागि प्रक्रिया अघि बढाएका छौं । त्यसपछि मात्र वास्तविक एकता निष्कर्षमा पुगेको हामीले ठान्ने छौं ।
अहिले एकताको सुरुवात मात्रै भएको छ, निष्कर्षमा पुगेको छैन् । तर हाम्रो उद्देश्य चाहीं कसरी यो एकतालाई दिगो बनाउने भन्नमा केन्द्रीत छौं । त्यसैले स्टेरिङ कमिटीलाई पूर्णता दिएर काम अघि बढाइसकेका छौं । निर्वाचन समिति बनाउने, विभिन्न समितिहरु बनाउने काम भइरहेको छ ।
हाम्रा महासचिवज्यूहरुले सिस्टममा काम गरिरहनु भएको छ । हामीले सदस्यता खुलाउनु पर्नेछ, एनसीसीहरुको विवाद मिलाउनुपर्नेछ । त्यसका लागि हरेक एनसीसीहरुमा एउटा समिति बनाएर सहजीकरण गर्ने काम गर्नेछौं।
भेरिफिकसन समिति, अनुगमन समिति, सदस्यता व्यवस्थापन समिति बनाउनु पर्नेछ । प्रतिनिधि व्यवस्थापनदेखि न्यायिक समितिहरु पनि बनाउनुपर्नेछ । यस्ता विविध क्षेत्रमा काम गरिरहेका छौं ।
त्यस बाहेक अरु के के हुँदैछ ?
यस बाहेक हामीले तुरुन्त गर्नुपर्ने कामहरु जस्तो नागरिकताको इस्यू छ त्यसमा काम गर्नुपर्नेछ । गैर आवासीय नेपाली नागरिकताले पाउनु पर्ने अधिकारले पूर्णता पाएको छैन् । त्यसका लागि हामीले सरकारसँग लबिङ गरिराखेका छौं । त्यसबाहेक इन्भेस्टमेन्ट सम्बन्धी केही इस्यूहरु पनि छन् ।
१० अर्ब लगानीको काम अहिलेसम्म पेन्डिङमा रहेकाले त्यसमा काम गर्नुपर्नेछ । साना साना लगानी पनि कसरी नेपालमा भित्र्याउन सकिन्छ भनेर इन्भेस्टमेन्ट फन्ड बनाउँदैछौं । विदेशमा रहेका नेपालीहरुको सीप, पुँजी र प्रविधिलाई नेपालमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहका छौं ।
यी सबै काम अहिले नै संभव होला र ?
सबैले साथ दिनुभयो भने संभव छ । विशेष गरेर एनसीसीहरुले पनि हामीलाई सहयोग गर्नुपर्यो । एनसीसीमा विवाद छ त्यो विवादलाई पनि समाधान गर्न सहयोग जरुरी छ । सबै विवाद मिलेपछि बल पुग्छ र सरकारसँग लविङ गर्न सजिलो हुन्छ । मताधिकारका विषयमा निर्वाचन आयोगसँग पनि छलफल भएको छ ।
मतदानको अधिकार दिनुपर्छ भन्ने कुरामास सबै पोजेटिभ हुनुहुन्छ । यस सम्बन्धमा टेक्निकल कुराहरुले अल्झाएको छ । कहाँ कसरी सुरु गर्ने भन्ने विषयले अहिले अलिकति समस्या आएको छ ।
तर पनि सरकार एउटा पाइलट प्रोजेक्टको रुपमा कुनै न कुनै देशबाट सुरु गरौ भन्ने पक्षमा छ । यसलाई हामीले छलफलका रुपमा लिएका छौं । अनलाइनमा गर्ने कि फिजिकल गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।
एकताका लागि तपाईले गर्नुभएको सहमतिलाई आत्मसमर्पण पनि भनिररहेका छन् नि ?
सहमति गर्दा सबै आफूले भनेको हुँदैन् । दुई पक्षलाई मिलाउनका लागि केही कुराहरु हामीले छाड्नुपर्ने हुन्छ । सहमति भनेको त दुई पक्ष मिल्ने कुरा हो नि, हैन र । त्यही भएर सबै हामीले भनेको कुरा पनि हुँदैन, सबै अर्को पक्षले भनेको पनि हुँदैन । मिल्नेक्रममा केही कुराहरु छाड्दा केही साथीहरु असन्तुष्टि हुनु भएको छ ।
त्यसलाई अस्वभाविक भन्न सकिदैन् । संस्थाको हितको लागि हामीले के गुमायौ भन्दा पनि संस्थाले जित्यो कि जितेन भन्ने कुरा ठूलो हुन्छ । आफ्नो व्यक्तिगत कुरा भन्दा पनि सांगठनिक मुद्दालाई ध्यान दिनुपर्छ । संस्थाले जित्नुपर्छ, व्यक्तिले जित्ने होइन् । हालको विषम परिस्थितिमा संस्थाको हितको लागि एकता आवश्यकता थियो । त्यही भएर पनि अहिले संस्थाले जितेको छ ।
निर्वाचन प्रणाली, डेलिगेट्सको समस्या समाधान नगरी अगाडि बढ्नुभयो भन्ने आरोपप्रति तपाईको धारणा के छ ?
सिस्टमको समस्यालाई हल गर्ने प्रयत्नमा छौं । निर्वाचन प्रणाली पनि विस्तारै परिवर्तन गर्दै जाने हो । एमआइएस सिस्टमको नाम परिवर्तन गरेर मेम्बर रजिस्ट्रेसन एमआरएस सिस्टम भनेका छौ । अहिलेको जमानामा ढड्डामा लेखेर सदस्यताको रेकर्ड राख्ने कुरा संभव पनि छैन् ।
प्रयास गर्यो भने प्रविधिबाट सबै कुरा सम्भव छ । हालको सिस्टमलाई कसरी पारदर्शी र विश्वासयोग्य बनाउने भन्ने मुख्य कुरा हो । त्यसका लागि अहिले हामीले दुई जना महासचिवहरुलाई पूर्ण अधिकार दिएका छौं । त्यहाँ टेक्निकल एक्सपर्टहरु सहभागी गराएका छौं । यो अब असाध्यै विश्वासयोग्य रहन्छ त्यसमा शंका गर्नु पर्दैन ।
डेलिगेट्सको विषय कसरी समाधान हुन्छ ?
मुख्य विवादको विषय यही नै हो । डेलिगेट्सको विषयमा सर्वोच्च अदालत निर्णय अनुसार उच्च स्तरीय समितिलाई जुन अधिकार दिएको थियो कार्यविधि बनाउने अधिकार थियो, त्यो अहिले छैन् । अहिले नयाँ कमिटी बनेको छ । त्यो कमिटीले कुन चाहीं विधान अवलम्बन गर्ने भन्ने विषय अलिकति विवादमा छ, यसमा पनि चाँडै समाधान निस्किन्छ ।
विवाद रहेको विषयहरुमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने, कानुन मन्त्रालयसँग समन्वय गर्नेछौं । सबैको सल्लाहमा नै कुन विधानलाई अनुसार जाने भन्ने कुरामा निर्णय गर्नेछौं । अधिवेशन भनेको कानुनी कुरा पनि हो । सबैसँग परामर्श र समन्वय जरुरी छ ।
भोलि अधिवेशन गरौंला फेरि कसैले अदालतमा मुद्दा हाल्यो भने औचित्य नै समाप्त हुनसक्छ । त्यसैले सबै कुरालाई ध्यानमा राखेर काम गर्नेछौं । विधान सम्मत ढंगले काम गर्नेछौं । विधानको विषयमा हामीले परराष्ट्र र कानुन मन्त्रालयसँग समन्वय गरेरै काम गर्नेछौं । त्यसैले अब एनआरएनएमा दिगो एकता बन्नेछ ।
प्रतिक्रिया