पूर्वाधार, पर्यटन र जनस्तरीय सहकार्यमा चीन महत्त्वपूर्ण साझेदार : मन्त्री श्रेष्ठ

शनिबार, १७ माघ २०८२

काठमाडौं : चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्लाई यस्तो अर्थपूर्ण पहलका लागि धन्यवाद दिँदै खेलकुदले भाषा, भूगोल र राजनीति भन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यम बन्ने बताइन् ।

उनले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गर्दै विकास, पूर्वाधार, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरीय आदान–प्रदानमार्फत सम्बन्ध थप सुदृढ हुँदै आएको बताइन् ।

मन्त्री श्रेष्ठले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरिन् । साथै, चिनियाँ पर्यटकले नेपालको पर्यटन र आर्थिक विकासमा योगदान पु¥याइरहेको उल्लेख गर्दै बुद्ध जन्मभूमि लुम्बिनी र सगरमाथाको देश नेपाल भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रोत्साहित गरिन् ।

चिनियाँ नयाँ वर्षको महत्वबारे बोल्दै उनले यसलाई नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीक भएको बताइन् । पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सव लगायत सांस्कृतिक कार्यक्रमहरू लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यी कार्यक्रमहरूले दुई देशका समुदायलाई नजिक ल्याउने भूमिका खेलेको बताइन् ।

मन्त्री श्रेष्ठले सांस्कृतिक तथा खेलकुद कूटनीतिलाई जनस्तरीय सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यमको रूपमा वर्णन गर्दै युवाहरू, महिला खेलाडी, बालबालिका र ज्येष्ठ नागरिकलाई समेट्ने संयुक्त खेलकुद कार्यक्रम तथा आदान–प्रदान कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार