इटहरीमा डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

सोमबार, ०७ पुस २०८२

इटहरी : सुनसरीको इटहरीमा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही पौष ९ गतेदेखि नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीको आयोजनामा डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । 
 
यही पौष १६ गतेसम्म सञ्चालन हुने विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजक डिभिएम ग्लोबल एकेडेमीको खेलमैदानमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १९ वटा विद्यालयका टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ को रूपमा मेडल, प्रमाणपत्र तथा ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विद्यालयस्तरीय क्रिकेट खेलको प्रवद्र्धन र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीका सहायक प्रचार्य नारायण सुवेदीले जानकारी दिए ।

पछिल्लो समय क्रिकेटप्रति युवा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै विद्यालयका शिक्षक तथा क्रिकेट प्रशिक्षक छितिज दाहालले यस्ता प्रतियोगिताले राम्रा खेलाडी तयार पार्ने मर्मत गर्ने विश्वा व्यक्त गरे । आयोजक विद्यालयले प्रतियोगिता आगामी वर्षहरूमा पनि निरन्तर रूपमा आयोजना गर्दै जाने जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार