पत्रकार विमली चारदशकदेखि जीवन बचाउने यात्रामा, १२० औँ पटक गरे रक्तदान

आइतबार, १३ पुस २०८२

झापा : चोटपटक लाग्दा मानव शरीरबाट रगत बग्नु सामान्य हो । तर, जीवन बचाउन स्वेच्छाले बग्ने रगत असामान्य समर्पण हो । दक्षिणी झापाको हल्दिवारी निवासी पत्रकार नेत्रविक्रम विमलीका लागि रक्तदान कुनै कार्यक्रम होइन, जीवनको अनुशासन बनेको छ । चार दशकभन्दा लामो यात्रामा उनले १२० औँ पटक रगत दान गर्दा त्यो एउटा आँकडा मात्र रहेन, सयौँ जीवनको आशा बन्यो ।

उनको रक्तदान यात्रा २०४५ साल भदौ १९ गतेबाट सुरु भएको हो । नेपाल रेडक्रस सोसाइटी तरहरा उपशाखाले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सुईले हात घोपेको दिन अझै उनको स्मृतिमा ताजा छ । ‘त्यो दिन मेरा लागि डरभन्दा बढी जिम्मेवारीको अनुभूति भयो’ विमली सम्झन्छन् ।

विमलीलाई रक्तदानप्रतिको आकर्षण भने विद्यालय जीवनमै अंकुराएको थियो । हल्दिवारी माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्दादेखि नै उनी जुनियर रेडक्रसका सदस्य बने । सानै उमेरमा सेवा, अनुशासन र मानवताको पाठले उनलाई गहिरो प्रभाव पा¥यो । त्यही प्रभावले तरहरा पुग्दा रक्तदान गर्ने साहस जुटायो ।

समयसँगै रक्तदान उनको पहिचान बन्दै गयो । स्थानीयदेखि क्षेत्रीय, जिल्ला हुँदै केन्द्रीय तहसम्मका रेडक्रसका गोष्ठी र कार्यक्रमहरूमा उनी सक्रिय सहभागी बने । जहाँ पुगे पनि उनले अरूलाई रक्तदानका लागि प्रेरित गर्न छाडेनन् । ‘आफूले नगरेको कुरा अरूलाई कसरी भन्नु ?’ भन्ने सोच नै उनको मूल मन्त्र बन्यो ।

चार महिना अघि भारतको सिलगढीमा एउटा गम्भीर प्रकृतिको बिरामी बालकको उपचारका लागि उनले ११९ औँ पटक प्लेटलेट कम भएका विरामी बालकलाई नयाँ जीवन दिन  रक्तदान गरे । सीमापारि उनले बगाएको त्यो रगत मानवीयता कुनै सीमामा बाँधिँदैन भन्ने उदाहरण बन्यो ।

रक्त समूह ‘वी पोजेटिभ’ भएका विमलीले अन्तिम अर्थात् १२० औँ रक्तदान भने नेपाल पत्रकार महासंघ झापाको ३७ औं स्थापना दिवसका अवसरमा महासंघ झापाले बिर्तामोडमा आयोजना गरेको  रक्तदान कार्यक्रममा उनले रगत सर्मपण गरे । पत्रकारितासँगै सामाजिक उत्तरदायित्व बोकेका उनीका लागि यो कार्यक्रम भावनात्मक पनि थियो ।

‘रगत दिनु ठूलो कुरा होइन, तर नदिँदा कसैको जीवन सकिन सक्छ,’ विमली भन्छन् । उनको यो साधारण वाक्यभित्र चार दशकको सेवा, अनुशासन र निःस्वार्थ भावना लुकेको छ ।

१२० औँ पटक रगत दान गर्दा पनि उनी विश्रामको कुरा गर्दैनन् । अझ उनी नयाँ पुस्तालाई रक्तदान संस्कृतिसँग जोड्नुपर्ने विचार राख्छन् ।
 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार