धरान : ७औँ कोशी प्रदेश अन्तर विद्यालय डीआईजीपी फुटबल रनिङ प्रतियोगिता आजदेखि धरानस्थित नेपाल पुलिस स्कुलको खेल मैदानमा सुरु भएको छ । उद्घाटन खेलमै घरेलु टोली नेपाल पुलिस स्कुल धरानले बाल भरौल मन्दिर माध्यमिक विद्यालयलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।
नेपाल पुलिस स्कुलका जर्सी नम्बर १० का समीर राईले खेलको १७औँ, ४३औँ र ४६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै, जर्सी नम्बर ९ ले २४औँ मिनेटमा र जर्सी नम्बर १३ ले ६७औँ मिनेटमा गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका हुन् ।
खेलको पहिलो हाफमा नेपाल पुलिस स्कुलले २–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप ३ गोल गरेको थियो । खेलको निर्धारित समय ३५–३५ मिनेटको रहेको थियो भने दुवै हाफमा २–२ मिनेट अतिरिक्त समय थप गरिएको थियो ।
ह्याट्रिक गरेका समीर राई ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।
नेपाल प्रहरी विद्यालयको आयोजनामा सुरु भएको सातौँ संस्करणको कोशी प्रदेश अन्तर विद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ आगामी पुस १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयले सहभागिता जनाएको प्रतियोगिता खेलकुद संयोजक सागर कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले ८१ हजार ५ सय रुपैयाँ, उपविजेता टोलीले ४१ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषणा गरिनेछ भने प्रतियोगिताका विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरिनेछ ।
प्रतियोगिता अन्तर्गत भोलि निधी सेकेण्डरी स्कुल झापा र वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल पथरीशनिश्चरेबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया