काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।
विनाजानकारी उद्योगहरुको विद्युत आपूर्ति कटौती गरिएको भन्दै उद्योगीहरु आन्दोलित भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रका पत्रकारहरुसँगको भेटमा यस्तो सबै समस्या १०/१५ दिनमा समाधान हुने भन्दै उद्योगीहरुलाई धैये गर्न आग्रह गरेका छन् ।
यस वर्ष हिउँ, पानी नपरेर सुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको उनले बताए । धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको र सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएकोका कारण उद्योगमा विद्यत आपूर्ति प्रभावित बन्न पुगेको उनले बताए ।
कटैया–कुशहवा १३२ केभी प्रसारणलाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समेत समस्या भएको कार्यकारी निर्देशक घिसिङले दाबी गरे ।
घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरुको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ, पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भएर काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक–दुई दिनदेखि ती आयोजनाहरुबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरुलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘सुनसरी मोरङ ओद्योगिक करिडोरका उद्योगहरुलाई विद्युत् काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरुलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उनले भने ।
अब १०/१५ दिनमा पूर्व मनसुन सुरु हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको वहाब बढेसँगै विद्युत् उत्पादन वृद्धि हुनसक्ने उनले बताए ।
Discussion about this post