विराटनगर । मोरङको रंगेली नगरपालिका–२ र ३ बाट गत चैत १४ गते २ सय ३४ किलोग्राम गाँजा बरामद भयो ।
भारततिर लैजाँदै गर्दा गाँजा बरामद गरेको प्रहरीले त्यसको ओसारपसारमा संलग्न ४ जना भारतीय नागरिकसहित ५ जनालाई पनि पक्राउ गर्यो । पक्राउ पर्नेमा भारत अररियाका ३० वर्षीय सिन्टुककुमार सिंह, २९ वर्षीय दीपक झा, २४ वर्षीय प्रवीण पासवान र विष्णुकान्त मिश्र तथा रंगेली–३ का वीरबहादुर कार्की छन् । प्रहरीले उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित ७ जनालाई प्रहरीले गत माघ २७ गते पक्राउ गर्यो । ३१ ग्राम ब्राउन सुगरसहित धरान–१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ, ३० वर्षीय मन्दीप मगर, धरान–१९ का २६ वर्षीय जनम मगर, धरान–३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगर पक्राउ परेका हुन् ।
संघीय प्रहरी इकाई कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ब्राउन सुगरको गिरोहलाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषध अफिमसहित २ जना गत मंसिर २० गते पक्राउ परे । पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय केयर सिंह र सुखजीत सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले ११ ग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसरी लागूऔषधसँग सम्बन्धित घटनामा पक्राउ पर्नेको संख्या कोसी प्रदेशमा ठूलो छ । पछिल्लो समय प्रदेशका विभिन्न स्थानबाट लागूऔषधसहित मानिस पक्राउ पर्ने क्रम बढेको छ । ठूलो मात्रामा लागूऔषध पनि बरामद भइरहेको छ ।
यसले पछिल्लो समय नेपाली समाज लागूऔषधको दलदलमा फस्दै गइरहेको पुष्टि हुन्छ । अर्थात, कोसी प्रदेशमा लागूऔषधको अवस्था निक्कै भयावह बनेर गएको देखाउँछ । यद्यपि, प्रहरीसमेतका निकाय नियन्त्रणका लागि प्रयासरत छन् ।
लागूऔषधको ओसारपसार, कारोबार र सेवनमा विशेष गरेर युवा पुस्ताको संलग्नता बढी पाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसको धन्दामा ४० वर्ष मुनिकाको संलग्नता धेरै छ । त्यसो त विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत सधैँजसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रनजिकका प्रहरी युनिटमा अन्य अपराधभन्दा लागूऔषधका थुनुवा धेरै हुने गरेका छन् । यो अवस्थाले पनि लागूऔषधको अवस्था अत्यासलाग्दो बन्दै गएको पुष्टि गर्छ । लागूऔषधका कारण अपराध पनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।
प्रायजसो अपराधिक घटनामा लागूऔषध सेवनकर्ताको संलग्नता रहने गरेको हो । लागूऔषधको अवस्था भयावह बन्दा यसले व्यक्तिगत स्वास्थ्यसँगै धन सम्पत्तिसमेत सखाप पारिरहेको प्रहरी अधिकारी बताउँछन् ।
‘विशेष गरेर विद्यालय तथा कलेजमा अध्ययनरत युवा समूहका व्यक्ति लागूऔषधको दलदलमा फसेको पाइन्छ । गलत संगत, पारिवारिक समस्या तथा अभिभावकको बेवास्ता मुख्य कारण देखिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल भन्छन्, ‘युवा पुस्ता लागूऔषधको दुरुपयोग र दुव्र्यसनमा संलग्न हुनु दुर्भाग्यपूर्ण हो । सन्तानलाई लागूऔषधमा फस्न नदिन अभिभावकको भूमिका मुख्य हुन्छ ।’ उनका अनुसार भारतसँगको खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ ।
गाँजा अवैध हिसाबले नेपालबाट भारततिर लैजाने गरिन्छ । ब्राउन सुगर, अफिम, डाइजापाम, एभिल, फेनारगनलगायतका विभिन्न खाले लागूऔषध भारतबाट नेपालतिर भित्राइन्छ । सिमावर्ती भारतीय बजारमा डिलर नै सञ्चालन गरेर खुलेआम रूपमा लागूऔषधको कारोबार भइदिँदा त्यसको प्रत्यक्ष असर नेपाली समाजमा परिरहेको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार विशेष गरेर लागूऔषध सेवनका नाममा व्यक्तिले आफ्नो धनसम्पत्ति उडाइरहेको पाइन्छ । ‘सेवनकै लागि भारतमा पुगेर महँगा लागूऔषध खरिद गर्दा सम्पत्ति स्वाहा भएर कतिपय घरबारविहीन बनेका छन् । नेपाली पैसा विदेशिएको छ,’ उनले भने, ‘विदेशी लागूऔषध निक्कै महँगो हुन्छ । सेवन गर्ने बानी परेको व्यक्ति आवश्यक पैसा जुटाउनलाई विभिन्न अपराधमा संलग्न हुन्छ ।’ एसपी ढकाल लागूऔषधले परिवार र समाजलाई ध्वस्त बनाइरहेको बताउँछन् ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला लागूऔषधको दुव्र्यसनका कारण विभिन्न अपराध बढ्दै जाँदा परिवार र समाजमा प्रत्यक्ष असर परिरहेको बताउँछन् । सबैभन्दा धेरै युवा पुस्ता लागूऔषधको लतमा फस्दा पारिवारिक र सामाजिक संरचनामाथि नकारात्मक प्रभाव परिरहेको उनको भनाइ छ ।
‘यो ठीक हैन भनेर सचेत हुँदाहुँदै पनि कतिपय व्यक्ति दुव्र्यसनमा फस्ने क्रम बढ्नु चिन्ताजनक विषय हो । लागूऔषधको विकराल अवस्थाका बारेमा सबैलाई जानकारी गराएर समाजलाई निक्कै सचेत गराउनुपर्ने अवस्था देखिन्छ । प्रहरीका तर्फबाट यसमा संलग्नलाई कारबाही गर्दै लागूऔषधविरुद्ध विभिन्न अभियान चलाइएको छ,’ डीआईजी बास्तोलाले भने ।
लागूऔषध नियन्त्रणका लागि प्रहरीले प्रदेशमा विशेष कार्ययोजना नै बनाएर अभियान चलाएको छ । निरन्तर रूपमा मनोसामाजिक परामर्श सेवा दिएर सेवनकर्तालाई समाजमा पुर्नस्थापना र उनीहरुलाई दुव्र्यसनबाट मुक्त गराउन ‘म सक्छु’ (आई क्यान) अभियान नै चलाइएको बास्तोलाले बताए । ‘लागूऔषधविरुद्ध प्रहरी आक्रामक बनेको छ । कानुनी कारबाही र सचेतनामूलक कार्यक्रम सँगसँगै सञ्चालन गर्ने गरी अभियानलाई तीव्रता दिइएको छ,’ उनले भने ।
ओसारपसार एवं कारोबारमा संलग्नलाई कानुन अनुसार कारबाही र सेवनकर्तालाई मनोपरामर्शमार्फत दुव्र्यसनमुक्त गरी समाजमा पुर्नस्थापना गराउने अभियानको उदेश्य छ । लागूऔषध नियन्त्रण तथा सेवनकर्तालाई दुव्र्यसनमुक्त बनाउन अभियान फलदायी हुने बास्तोला बताउँछन् ।
लागूऔषधविरुद्ध शून्य सहनशीलताको नीति लिएर अभियानलाई तीव्र बनाउन प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयलगायतका सबै प्रहरी युनिटलाई उनको निर्देशन छ । अभियानले लागूऔषधको अवैध ओसारपसार, कारोबार र दुव्र्यसनलाई न्यूनीकरण गर्न तथा सेवनकर्तालाई थप जोखिममा पर्न नदिन मद्धत पुग्ने बताइएको छ ।
‘प्रचलित कानुन बमोजिम कारबाही गर्ने कुरा त छँदैछ,’ डीआईजी बास्तोला भन्छन्, ‘त्योबाहेक अभियानमार्फत व्यक्ति र समाजलाई सचेत गराउने काम भइरहेको छ ।’ उनले प्रहरी एक्लैबाट मात्रै सम्भव नहुने हुँदा अभियान सफल बनाउन सबै पक्षले साथ दिनुपर्ने उल्लेख गरे ।
पछिल्लो समय प्रदेशमा हुने अपराधिक घटनामा लागूऔषध दुव्र्यसनीको संलग्नता धेरै पाइएको उनको भनाइ छ । उनका अनुसार लागूऔषधको दुव्र्यसन र यसको जालोमा युवापुस्ताको संलग्नता धेरै हुनु चिन्ताजनक विषय हो । लागूऔषधलाई प्राथमिकतामा राखेर विशेष ढंगले अभियान चलाउन थालिएपछि कारोबार र ओसारपसारमा संलग्न पक्राउ पर्ने क्रम पनि बढेको छ ।
बढ्दो अपराध नियन्त्रण गर्न तथा पारिवारिक र सामाजिक संरचना जोगाउन लागूऔषधको सञ्जालन तोड्नुपर्ने सरोकारवाला बताउँछन् । डीआईजी बास्तोलाले लागूऔषध नियन्त्रणका लागि कारोबार, ओसारपसार र सेवन हुने सम्भावित स्थानको पहिचान गरेर प्रहरी सक्रियता बढाइएको बताए ।
लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न प्रहरी युनिटमा ‘फोकल अफिसर’ तोक्ने, सम्भावित स्थानमा निगरानी बढाउने, लागूऔषधसँग सम्बन्धित व्यक्ति पहिचान र पक्राउ गर्ने, सचेतनामूलक कार्यक्रमलाई तीव्र बनाउने एवं मनोपरामर्शलाई प्राथमिकतामा राख्ने गरेको छ ।
प्रहरीले २०७९ वैशाखदेखि चैतसम्म प्रदेशभरि १ सय ५७ वटा मनोसामाजिक परामर्श कक्ष र १ सय १० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा दुव्र्यसनमा फसेका ५ हजारभन्दा बढी व्यक्तिलाई लागूऔषध र यसले पार्ने सबैखाले असरका बारेमा परामर्श दिइएको थियो ।
त्यस्तै शैक्षिक संस्थालाई लक्षित गरेर १ वर्षको अवधिमा ५८ वटा कार्यक्रम प्रहरीले सञ्चालन गरेको छ । जसमा ५ हजार ३ सय बढी विद्यार्थी उपस्थित थिए ।
यस्ता कार्यक्रममा लागूऔषध र यसको कारोबार एवं सेवनबाट पर्ने व्यक्तिगत, पारिवारिक तथा सामाजिक असरका बारेमा जानकारी दिने गरिन्छ । साथै प्रयोगकर्तालाई लागूऔषधको सेवनबाट मुक्त भइ समाजमा पुनःस्थापित हुन अभिप्रेरित गरिन्छ ।
वैशाखदेखि चैतसम्ममा प्रदेशका विभिन्न स्थानमा १ हजार ७ सय ५८ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ६७ बोट गाँजा प्रहरीले नष्ट गरेको छ । अवैध ओसारपसार भइरहेको ४ हजार ५ सय २० किलो गाँजा बरामद गरेको छ । यस अवधिमा लगभग १ किलो ८ सय ग्राम ब्राउन सुगर, २८ ग्राम अफिम, र २ ग्राम ४ सय १३ मिलि ग्राम चरेश बरामद भएको छ ।
३० हजार ५ सय ९४ क्याप्सुल मनोदीपक चक्की, १२ हजार ९१ मनोदीपक सुइ र ३ सय ५७ बोतल झोलजन्य लागूऔषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नाइट्रोसन, नाइट्राभेट, स्पास्मोप्रोक्सिभन, नोफ्रिन, रुगानील, लोराजिमोपम, स्पास्पेन, ल्याबेरोट, एभिल, डाइजापाम, लुपिजेसिक, फेनारगत, कोरेक्स, फेन्सिडललगायतका लागूऔषध बरामद भएको छ ।
पछिल्लो १ वर्षमा प्रदेशभित्र लागूऔषधसँग सम्बन्धित ८ सय ५ वटा मुद्दा दर्ता भएका छन् । जसमा १ हजार १ सय ७३ जनालाई प्रतिवादी बनाइएको छ । त्योबाहेक प्रदेशमा ९७ जनाको हत्या भएको छ ।
हत्यामा १ सय ८० जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ वर्षको अवधिमा ५ सय ५३ वटा जबरजस्ती करणी, १ सय २४ वटा करणी उद्योग, १ हजार ६ सय ३० वटा सामाजिक र ३ हजार ७ सय ७८ वटा अन्य अपराधिक घटना भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा हत्या, मानव बेचविखन, करणी, करणी उद्योग, लागूऔषध, सामाजिक अपराध र अन्य गरेर वैशाखदेखि चैतसम्ममा ७ हजार ४ वटा अपराधिक घटना भएका छन् । प्रायः घटनामा लागूऔषध जोडिने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।
Discussion about this post