विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालयले असहाय एवं शारीरिक रुपमा अशक्त नागरिकलाई सेवा प्रवाहका क्रममा प्राथमिकतामा राखेको जनाएको छ ।
कुनै घटनामा पीडित भएर आउने असहाय र अशक्त नागरिकलाई सेवा प्रवाहमा प्राथमिकता दिंदै न्यायको अनुभूति हुने गरी काम गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
कोसी प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालय तथा प्रहरी युनिटलाई असहाय, अशक्त, अपांगता भएका, शोषित, पीडित र गरिब नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार अन्यायमा परेर आएपछि प्रहरीबाट निम्नस्तर र पहुँचविहीन भएकाहरू थप पीडित बन्ने अवस्था आउनु नहुने भन्दै पीडामा परेका सबैको समस्या सम्बोधन गर्ने र उनीहरूलाई न्याय दिने गरी प्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमणका क्रममा मंगलबार निर्देशन दिँदै बाँस्तोलाले प्रहरीका कारण पीडितहरू झन् अन्यायमा पर्ने अवस्था आउन दिन नहुने बताए ।
पीडितलाई न्याय दिलाउने हरसम्भव प्रयत्न गर्न तर कानुनभन्दा बाहिर गएर कुनैपनि काम नगर्न उनले निर्देशन दिए ।
दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाइ अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि तथा लागूऔषध एवं हतियारको कारोबार, ओसारपसार र प्रयोग नियन्त्रण गर्न ध्यान दिनुपर्ने उनले बताए ।
बाँस्तोलाले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयको आदेश र निर्देशनलाई तल्लो दर्ताका कर्मचारीसम्म पुर्याउन, फरार प्रतिवादी पक्राउ गर्न, नागरिकमैत्री सेवा प्रवाह गर्न, सबैसँग शिष्ट र सभ्य भाषा प्रयोग गर्न, सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिए ।
Discussion about this post