विराटनगर । मोरङको लेटाङका एक वृद्धले विराटनगरमा बिहीबार आत्मदाह प्रयास गरेका छन् । शरीरमा पेट्रोल छर्किएर आफैं आगो लगाएका उनको अवस्था सिकिस्त छ ।
आगोले वृद्धको शरीरका धेरैजसो भाग जलेको छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।
मोरङको लेटाङ नगरपालिका ७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले आत्मदाह प्रयास गरेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ग्यालेनमा पेट्रोल लिएर आएका नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगे। शरीरमा छर्किएका थिए । त्यसपछि आफैंलाई आगो लगाएको प्रहरीले जनाएको छ ।
उनले शरीरमा आगो लगाएलगत्तै स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । उनीहरुले ती वृद्धको शरीरमा पानी खन्याएर आगो निभाउने प्रयास पनि गरेका थिए ।
प्रहरी टोली पुगेर हेर्दा उनको झोलामा रहेको नागरिकताका आधारमा उनको पहिचान खुलेको थियो ।
स्थानीयले उनलाई उपचारका लागि नोबेल अस्पताल लगेका थिए । त्यसपछि थप उपचारका लागि रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको छ ।
डीएसपी दाहालका अनुसार वृद्धबारे विस्तृतमा केही खुलेको छैन । घटनाबारे अनुसन्धान सुरु गरिसकेको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा वृद्ध नेपालको नातामा बहिनी पर्नेसँग लेनदेनको विवाद थियो ।
आफूले सापटी दिएको रकम लिन उनी धेरैपटक विराटनगर आउने गरेको तर फिर्ता पाउन नसकेको भन्ने खुलेको प्रहरीले उल्लेख गरेको छ ।
लामो समयदेखि आफ्नो रकम फिर्ता नपाएपछि पैसा सापटी दिएकी बहिनीकै घरनजिक वृद्धले आत्मदाह प्रयास गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।
Discussion about this post