विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासु बिक्री र वध गर्न रोक लगाएको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए ।
स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताए ।
मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न उनले आग्रह गरे ।
उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताइन् ।
उनँले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्ने हुँदा उपभोक्ता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकैपटक नभए पनि क्रमैसँग माछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताए ।
शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उनले जानकारी दिए ।
विराटनगरका हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्ने गरिँदै आएको छ । यस्तै भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ ।
अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए ।
संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताए ।
बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने उनले बताए । त्यस्तै नेपाल सरकारका पूर्वसहसचिवसमेत रहनु भएका मासु विज्ञ डा. बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराएका थिए ।
विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
Discussion about this post