विराटनगर । कोसी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन शुक्रबार कारागार चलान भएकी छन् ।
सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकी खातुनलाई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ चलान गरिएको हो ।
उनी नेकपा (एमाले)ं का तर्फबाट २०७४ सालमा समानुपातिक सांसद बनेकी थिइन् ।
लामो समयदेखि ‘फरार’ रहेकी खातुन दिउँसो आफैँ जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन् ।
अदालत उपस्थित भएपछि खातुनलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकी खातुनलाई अदालतले १ वर्ष कैद सजायको फैसला गरेको थियो ।
जिल्लाको फैसलाविरुद्ध उनी उच्च अदालत विराटनगर पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै फैसाल सदर गरिदियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगिन् ।
‘इन्साफ दोहोर्याइपाउँ’ भन्दै सुनुवाइका लागि दायर गरेको निवेदन सर्वोच्चबाट अस्वीकृत भयो । खातुनको निवेदन अध्ययन गर्दै २०७९ जेठ २५ गते सर्वोच्चले निस्सा नदिने आदेश गरेको थियो । तर, त्यही मुद्दाका अर्का प्रतिवादी विजय कामतलाई भने सर्वोच्च अदालतले सुनुवाइका लागि निस्सा दियो ।
सर्वोच्चबाट निस्सा नपाएकी पूर्वसांसद खातुन मलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को सुविधा माग गर्दै निवेदनसहित जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन् ।
उक्त दफामा १ वर्षसम्म सजाय तोकिएका कैदीले दिनको ३ सय रूपैयाँ शुल्क तिरेर बाहिरै बसी कैद भुक्तान गर्न पाउने कानुनी व्यवस्था छ ।
अदालतले आदेश नदिएपछि खातुनलाई कारागार चलान गरिएको सूचना अधिकारी बुढाथोकीले बताए ।
उक्त दफा अनुसार दिएको निवेदनउपर अदालतमा हरेक शुक्रबार सुनुवाइ हुन्छ । खातुनको निवेदनमाथि अर्को शुक्रबार सुनुवाइ हुनसक्ने बुढाथोकीले बताए ।
अपमान गर्न नमिले भएकाले कानुनको इज्जत गरेर आफैँ अदालत उपस्थित भएको खातुनको दाबी छ । उनले कानुनको परिधिभित्र रहेर न्याय–अन्यायको फैसला गरिदिन पनि माग गरिन् ।
खातुनसहित उनका पति शेख शिलबर मियाँ, मोरङको तत्कालीन कदमाह गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले २०७४ वैशाख ३१ गते दोषी ठहर गरेको थियो ।
उनीहरुलाई जनही १ वर्ष कैद र ५० रूपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको हो । साथै सरकारी कर्मचारी रहेका कारण कामत र मण्डललाई थप १ वर्ष गरेर जनही २ वर्ष कैद हुने फैसला अदालतले सुनाएको थियो ।
जिल्लाको फैसलाविरुद्ध उनीहरु उच्च अदालत विराटनगर पुगे । उच्चले खातुनसहित कर्मचारी कामत र मण्डलका हकमा जिल्ला अदालतले गरेको कैद सजायलाई कायम गर्दै जनही १४ हजार ५ सय रूपैयाँ जरिवाना हुने फैसला २०७४ पुस ९ गते सुनाएको थियो । खातुनका पति मियाँले उच्चबाट सफाइ पाए ।
मोरङको तत्कालीन कदमाह गाउँ विकास समिति (गाविस)–२ (हालको कटहरी गाउँपालिका–९) मा मधुसूधनराज पाण्डेको ३ बिघा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोहीयानी हक थियो ।
मोहीयानी हकको जग्गा परिवारका अन्य सदस्यलाई नदिइकन आफ्नो नाममा मात्रै पार्ने उदेश्यसहित सरकारी कागजात किर्ते गरेको ठहर अदालतबाट भएको हो ।
खातुनले मोहीयानी हकको ३ बिघा १० कट्ठा जग्गा आफ्नो पार्नलाई २०७१ चैत ४ गते तत्कालीन कदमाह गाविसका सचिवको सिफारिस पेश गरेकी थिइन् ।
एउटै दर्ता नम्बरका २ वटा सिफारिस गाविसबाट आएपछि किर्ते गरेको खुलेको थियो ।
Discussion about this post