विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु भएको छ ।
विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टर उपचारका क्रममा उनको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका मोरङको लेटाङ नगरपालिका–७ घर भइ मकवानपुरको हेटौँडामा बस्दै आएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले मृत्यु भएको हो ।
उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
बिहीबार बिहान १०ः४० बजेतिर ग्यालेनमा पेट्रोल लिएर आएका वृद्धले आफ्नै शरीरमा खन्याएर आगो लगाएका थिए ।
आगोले वृद्धको शरीरका अधिकांश भाग जलेको थियो । उनको साथमा रहेको झोलामा भेटिएको नागरिकताका आधारमा पहिचान खुलेको थियो ।
डीएसपी दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट वृद्धले लेनदेन विवादका कारण आफ्नै शरीरमा आगो लगाएको खुलेको छ ।
‘वृद्धले चिनजानका मान्छेलाई पैसा सापटी दिएको खुलेको छ । त्यो पैसा उठाउन जाँदा विवाद भएपछि शरीरमा आगो लगाएर आत्मदाह गरेको खुल्यो,’ उनले भने, ‘घटनासँग सम्बन्धित प्रमाण संकलन गरेर थप अनुसन्धान अघि बढाइएको छ ।’
उनका अनुसार घटनापछि परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
शव पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शुक्रबार परिवारका सदस्यको जिम्मा लगाइएको छ ।
Discussion about this post