इटहरी । सरस्वतीप्रसाद–दुर्गादेवीरिजाल प्रतिष्ठानले २०८० सालको सरस्वती प्रसाद–दुर्गादेवी रिजाल स्मृति पुरस्कार वैदिक सनातन धर्मका प्रकाण्ड विद्धान प्राध्यापक पुरुषोतम भट्टराईलाई प्रदान गरेको छ ।
यसैगरी सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति पुरस्कार भिन्न क्षमता भएका कवि एवं साहित्यकार वियोग सापकोटालाई प्रदान गरिएको छ ।आज सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष संस्कृत साहित्य, धर्म संस्कारका ज्ञाता सामाजिक अभियन्ता पुरुषोत्तम भट्टराईलाई सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठानले ५१ हजार नगद सहित अभिनन्दन गरेको हो ।
यस्तै प्रतिष्ठानले फरक शारिरिक क्षमता भएका कवि वियोग सापकोटालाई नगद २५ हजार सहित सम्मान पत्र र ओसल्ला ओढाएर सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ ।
दुवैलाई प्रमुख अतिथि पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाले अभिनन्दन तथा सम्मान गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव भैरव रिजालले संस्थाको उद्देश्य र आफना माता पिताको संक्षिप्त जीवनी र उहाँहरुको सत्कर्मबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रसाद रिजालले स्वागत मन्तव्य राखेका थिए ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य अमृत अर्याल, रेवती रमण भण्डारी, रोहित कार्की नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष विष्णु नारायण डाँगी, पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरेलगायतको उपस्थिति थियो ।
प्रतिष्ठानले विपन्न परिकारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्दै आएको छ भने विभिन्न समयमा, खेलकुद र अन्य सामाजिक कार्य गर्दै आएको छ ।
दिवंगत सरस्वतीप्रसाद रिजालले २००८ सालमा इटहरीमा ललिता राइस अयल फलोर एण्ड स–मिल स्थापना गरेर इटहरीमा औद्योगिक क्रान्तिको सुरुवात गरेको पूर्वमन्त्री सुब्बाले बताए ।
यस्तै, इटहरीको जनता माध्यामिक विद्यालयको प्रवर्द्धन र जनता बहुमुखी क्याम्पसको स्तरोन्नतिमा रिजाल परिवारको महत्वपूर्ण योगदान छ ।
सरस्वतीप्रसाद–दुर्गादेवीका काइँला छोरा भैरव रिजालले जनता क्याम्पसमा स्थापनाकालमा संस्थापक प्राध्यापकका रुपमा बेतलबी रुपमा अध्यापन गरेका थिए ।
Discussion about this post