काठमाडौँ । पर्यटन प्रवर्द्धन र प्रचारका लागि इलामको सन्दकपुर गाउँपालिकाको टोली संघीय राजधानी काठमाडौं आइपुगेको छ।
पालिकाका प्रतिनिधि र पत्रकारलगायतको टोलीले पूर्वप्रधानमन्त्री, मन्त्रीहरू र पर्यटनसम्बद्ध निकायसँग छलफल गरिरहेको छ।
टोलीले मंगलबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरेको थियो।
कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल, इलाम–२ का सासंद सुवास नेम्बाङसँग पनि भेट गरी पालिकाको पर्यटन योजनाबारे जानकारी गराएको थियो।
पर्यटनमन्त्री किरातीले सन्दकपुरको पर्यटन विकासका लागि क्रमागत रूपमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको टोलीमा सहभागी २ नम्बर वडाका अध्यक्ष सनम राईले बताए।
सभामुख घिमिरेले पनि इलामसँगको पुरानो सम्बन्धको चर्चा गर्दै पर्यटन विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रमुख धनन्जय रेग्मीसँग पनि टोलीले भेट गरेको छ।
सो क्रममा रेग्मीले रामसार क्षेत्र माइपोखरी हुँदै छिन्टापु–ढापपोखरी–सन्दकपुर जोड्ने पदमार्ग प्रवर्द्धनमा बोर्डले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सन्दकपुर गाउँपालिकामा निर्माण भइरहेको रेडपाण्डा प्रजनन केन्द्र सञ्चालन, माइपोखरी–सन्दकपुर सडक स्तरोन्नति, सातखाल्डे खेलमैदान, गजाधर धनमाया रंगशाला निर्माण लगायतका योजनाबारे जानकारी गराउँदै टोलीले बजेट विनियोजनका लागि पहल गर्न पनि आग्रह गरेको थियो।
बुधबार टोलीले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरुङ तथा ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का प्रतिनिधिसँग पनि छलफल गरेको छ।
राजधानी आएको टोलीमा सन्दकपुरका वडाध्यक्षहरू लीलबहादुर बुर्जा र यज्ञबहादुर गुरुङलगायत छन्।
सूर्योदय र सूर्यास्तको अवलोकनसँगै सन्दकपुरबाट नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमाल देख्न सकिने टोलीमा सहभागी पत्रकार सुजन तिम्सिनाले बताए।
उनैले खिचेका सन्दकपुर क्षेत्रका तस्बिर संगृहीत पुस्तक सन्दकपुर गाउँपालिकाले हालै प्रकाशनमा ल्याएको छ। सन्दकपुर डाँडा इलामकै सबैभन्दा अग्लो (३,६३६ मि.) स्थानमा रहेको पर्यटकीय क्षेत्र हो।
भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुरमा भारतीय नागरिकका साथै तेस्रो मुलुकबाट पनि पर्यटक भित्रिने गरेका छन्। छिन्तापु, कालपोखरी, कैयाकट्टा, जौबारी, टप्पु, माबुथाम, हाँगेथाम जस्ता अग्ला थुम्काहरू पनि यहाँका आकर्षण हुन्।
सन्दकपुर गाउँपालिकाभित्रै रेडपाण्डा पनि अवलोकन गर्न सकिन्छ।
Discussion about this post