विराटनगर : नेपाली हिन्दु धर्मावलम्बीले मनाउने ठूला चाडपर्व दसैं, तिहार र छठको अवधिमा कोशी प्रदेशमा १ सय ५१ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार प्रदेशमा यसवर्ष चाडपर्वका बेला भएका २ सय ९३ वटा अपराधमध्ये सबैभन्दा धेरै आत्महत्याको घटना रहेका छन् । यद्यपि, आत्महत्या गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा कम हो । गत वर्ष चाडपर्वको अवधिमा १ सय ७१ जनाले आत्महत्या गरेका थिए ।
१४ जिल्ला रहेको प्रदेशमा यसवर्ष ठूला चाडपर्वमा आत्महत्याबाहेक लागुऔषधका ५२, बलात्कार (जबरजस्ती करणी)का ३९, चोरीका २६, जुवा तासका १७, हत्याका ५, लुटपाटका २ र अभद्र व्यवहारको एउटा घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी, डीएसपी ध्रुव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जुवा तास खेल्ने १ सय ५४, लागुऔषधमा ६०, बलात्कारमा ३३ र हत्यामा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । जुवा र तासको खालबाट प्रहरीले ३७ लाख ८९ हजार ६ सय ३० रूपैयाँ बरामद गरेको थियो । यद्यपि, प्रहरीले लुटपाट र चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
प्रहरीका अनुसार कोशीमा अघिल्लो वर्ष चाडपर्वको अवधिका ८ जनाको हत्या भएको थियो । प्रहरीको रेकर्ड अनुसार २०८० को चाडपर्वमा जुवा तासका ७, जबरजस्ती करणीका १०, लागुऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएका थिए । यसवर्ष चाडपर्वको अवधिमा विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सुरक्षा सक्रियताका कारण कोशीमा यसवर्ष चाडपर्वमा छिटपुटबाहेक ठूला अपराध र अप्रिय घटना हुन हुन पाएनन् । फाटफुटबाहेक सामूहिक हिसाबका ठूला अपराध एवं अप्रिय घटना नभएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले यसवर्ष ठूला चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।
प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएर लागू गरेको थियो । प्रहरीले असोज १७ देखि कात्तिक २२ गतेसम्मलाई चाडपर्वको अवधि मानेर सुरक्षा योजना लागू गरेको हो ।
विशेष सुरक्षा योजना बनाएर लागू गर्दै सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएका कारण दसैं, तिहार र छठजस्ता पर्वमा अप्रिय एवं ठूला घटना हुन नपाएको खापुङको दाबी छ ।
विगतमा जस्तो यसवर्ष संगठित अपराध, सामूहिक बलात्कार, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ छ ।
शान्ति सुरक्षाको अवस्था मजवुत बनाएकै कारण तुलनात्मक हिसाबले यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको र ठूला अपराधिक घटना हुन पाएको उनले बताए ।
डीआईजी खापुङका अनुसार सुरक्षा सक्रियता बढाउँदै सुरक्षा व्यवस्था कडा पारेर चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सबै उपायको अवलम्बन गरिएको थियो । मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने तथा चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थान प्रहरीको विशेष निगरानीमा थिए ।
बैंक, वित्तीय संस्था एवं आर्थिक गतिविधि धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा सुरक्षा सतर्कता बढाइएको थियो । विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध रोकिएको डीआईजी खापुङको भनाइ छ ।
चाडपर्वका बेला सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो । उनका अनुसार संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरियो । धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानमा सुरक्षा सक्रियता बढाइएको थियो ।
मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा प्रहरीले ध्यान दिएको डीआईजी खापुङले बताए ।
चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण नेपाल र सशस्त्र प्रहरीको प्राथमिकतामा परेको थियो ।
‘जुवा, तासलगायत गैह्रकानुनी खेलहरु र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिने योजनाअनुरुप काम गरियो,’ खापुङले भने, ‘उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षामा कमी भएन ।’
उनका अनुसार शंकास्पद व्यक्तिहरु एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा प्रहरी सक्रिय थियो ।
चाडपर्वमा अपराध नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी बढाउँदै प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको जानकारी उनले दिए । अवाञ्छित र उश्रृङ्खल गतिविधि रोकथाम एवं नियन्त्रण गर्दै आमनागरिकमा सुरक्षित, भयरहित, हर्षोल्लासका साथ पर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरीले सबै उपायको अवलम्बन गरेको खापुङ बताउँछन् ।
चाडपर्वका बेला सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीका साथै भारतीय ‘काउण्टर पाट्र्स’सँग समेत समन्वय र सहकार्य गरिएको डीआईजी खापुङले बताए ।
भारतबाट लागूऔषध, हातहतियार एवं विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि रोक्न उच्च सतर्कता अपनाएर काम गर्दा प्रतिफल राम्रै आएको उनको भनाइ छ ।
Discussion about this post