काठमाडौँ । उपनिर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा चलेको रुपान्तरणको बहसलाई तीव्रता दिँदै कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरण अभियान थालेका छन् ।
रुपान्तरण अभियानअन्तर्गत गत बिहीबार काठमाडौंमा बृहत् भेला गरेका नेताहरूले आइतबार सातै प्रदेशमा रुपान्तरण अभियानको संयोजक तोकेका छन् ।
अभियानले सातै प्रदेशमा कांग्रेसमा रुपान्तरण र सुधारका लागि छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने नेताहरूले बताएका छन् । शनिबार र आइतबार निरन्तर छलफलपछि नेताहरूले सात प्रदेशमा संयोजक तोकेका हुन् ।
अभियानका लागि कोशी प्रदेशमा गुरुराज घिमिरे, मधेशमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजक तोकिएको छ ।
उनीहरूमध्ये आचार्य र पोखरेल वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य हुन् भने घिमिरे र शाही प्रदेश सभापतिका प्रत्याशी थिए । चालिसे केन्द्रीय सहमहामन्त्रीको उम्मेदवार थिए । उनीहरू सबै नेता शेखर कोइराला पक्षका नेता हुन् ।
नेता घिमिरेले पार्टीमा रुपान्तरण र सुधारका लागि आफूहरूले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । ‘सातै प्रदेशमा पार्टी सुधारका लागि विकल्पहरू के-के हुन सक्छन् ? हामीले छलफल गर्ने, बहस गर्ने र सुझाव लिने अभियान चलाउँछौँ,’ उनले भने, ‘अहिले संयोजक तोकिएको छ, अब त्यहाँ टिम बन्छ ।’
Discussion about this post