इटहरी । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरूको समूहले फेरि आन्दोलन चर्काएका छन् ।
मंगलबार राति झापाको दमकमा उनीहरूले मसाल जुलुस निकालेका थिए । जुलुसमा सहभागी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले केही राउन्ड हवाइ फाइर समेत गरेको थियो ।
झडपमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित सुरक्षाकर्मीतर्फ १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केही संख्यामा प्रदर्शनकारीहरु पनि घाइते भएको जनाइएको छ । दिक्षा क्षेत्री, गजेन्द्र फागोलगायत प्रदर्शनकारी घाइते भएका हुन् ।
दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए ।
सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोज्दा झडप भएको थियो ।
झडपका क्रममा आन्दोलनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा, लाठी प्रहार गरेका थिए ।
सुरक्षाकर्मीले हवाइफायर गर्नुका साथै केही सेल अश्रुग्याँस प्रहार गरेर भीडलाई तितरवितर बनाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post