विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा बुधबार दिउँसो टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले टिपर चालकको गल्तीले दुर्घटना भएको भन्दै सडकमा अवरोध गरेका छन् ।
विराटनगर–विराटचोक सडकखण्डमा दक्षिणतर्फ आइरहेको प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ७४०२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुनीलकुमार श्रेष्ठका अनुसार ठक्करलगत्तै स्कुटर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का ४६ वर्षीय चन्द्रकान्त काफ्लेको त्यहीँ मृत्यु भएको थियो ।
मृतकको झोलामा रहेको नागरिकताका आधारमा मृतकको पहिचान गरिएको थियो ।
टिपर चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित स्थानीय बासिन्दाले सडकमा अवरोध गरेका थिए । उनीहरुको आवरोधका कारण यातायात सञ्चालन प्रभावित बनेको छ । स्थानीयले टिपरमा तोडफोड समेत गरेका छन् ।
दुर्घटनापछि टिपर चालक फरार छन् । उनको पहिचान खुल्न सकेको छैन । प्रहरीले खोजी भइरहेको जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहालका अनुसार घटनास्थलमा ठूलो भीड जम्मा भएको छ, उनीहरुलाई सम्झाउने प्रयास भइरहेको छ ।
Discussion about this post