काठमाडौं । नक्कली शरणार्थी प्रकरण छानबिन प्रक्रियामा अवरोध गर्न खोजेको आरोप खेपिरहेका प्रमुख तीन दलका शीर्ष नेताहरुले अनुसन्धानमा प्रहरीलाई कुनै पनि दबाब नदिने दाबी गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा छानबिन प्रक्रियामा कुनै अवरोध नगर्ने सहमति भएको हो ।
शीर्ष नेताहरुबीच तीन दिनदेखि लगातार छलफल हुँदै आए पनि नक्कली शरणार्थी प्रकरणबारे कुनै कुरा नभएको बताउँदै आएका थिए । यसले जनस्तरमा शीर्ष नेताहरु नै आफ्ना नेता बचाउन लागेको आशंका हुँदै आएको थियो ।
आजको छलफलपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले बाहिर हल्ला चलेजस्तो यो प्रकरणमा संलग्नलाई उम्क्याउनेबारे छलफल नगरेको दाबी गरे । उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानमा कुनै अवरोध पुर्याउन नहुनेमा शीर्ष नेता सहमत रहेको बताए ।
शीर्ष नेताहरुको छलफलमै केही समय सहभागी भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन शीर्ष नेता सहमत रहेको बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने तीन नेताबीच संसदीय समितिको नेतृत्व चयन र संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिएका छन् ।
शरणार्थी प्रकरणमा मुख्य दुई दल कांग्रेस र एमालेका नेताहरु नै मुछिएपछि शीर्ष नेताहरुबीच तीन दिन यता लगातार छलफल भइरहेको छ ।
Discussion about this post