काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते एवं ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बुधबार साँझ ७:३० बजे उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
उक्त अस्पतालमा लामो समयदेखि मुकेश उपचाररत थिए । २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए । सोही दिनदेखि ओछ्यानमा परेका थिए । १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका थिए ।
उनको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा १४ वर्ष उमेरका मुकेश करिब १७ वर्षदेखि जिउँदो सहिदका रुपमा थिए ।
गोलीका कारण पक्षघात भएका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
बनेपा नगरपालिका – ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका थिए । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।
मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।
कायस्थको आज (बिहीबार) अन्तिम संस्कार गरिने मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष नेपालले जानकारी दिए ।
Discussion about this post