विराटनगर / मट्टितेल खन्याएर आफ्नै शरीरमा आगो लगाएकी १ जना महिलाको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार पारिवारिक विवादपछि शरीरमा आगो लगाएकी विराटनगर महानगरपालिका–१० तीनटोलियाकी ४० वर्षीया आशा शर्मा (कोइरी)को मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आफ्नै शरीरमा आगो लगाएको खुलेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आशाले कुपी (टुकी)बाट मट्टितेल खन्याएर गत बुधबार राति ९ बजेतिर आफ्नो शरीरमा आगो लगाएको पाइएको छ । पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि शरीरमा आगो लगाएको खुलेको दाहालले बताए । आगोले उनको शरीरका अधिकांश भाग जलेको थियो ।
विराटनगरको कोसी अस्पताल ल्याइएकी आशाको उपचारका क्रममा भोलिपल्ट अर्थात बिहीबार साँझ ७ः३० बजेतिर मृत्यु भएको डीएसपी दाहालले बताए । प्रहरीले आशाको पारिवारिक विवादका बारेमा जानकारी गराएको छैन । यद्यपि, पति राजकुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । शवलाई भने पोस्टमार्टमका लागि सोही अस्पतालमै राखिएको छ ।
Discussion about this post