इलाम । इलाममा सरकारी निकायबाट अनुमति नलिइ कोरियन भाषा प्रशिक्षण सञ्चालन गरिरहेको पाइएको छ ।
कोरियामा पानी जहाजमा काम लगाइदिने भन्दै वाइल्डिङ तालिम र भाषा कक्षा सञ्चालन गरिरहेका इलामका दुइ संस्था कानूनविपरी सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
कोरियन भाषा कक्षा सञ्चालन गरिरहेको इलाम चोक बजारको कान्तिपुर टेक्निकल कलेज (केएमटी) र कोरिया जान भन्दै युवाहरुलाई वाइल्डिङ तालिम दिइरहेको एस स्कील ट्रेनिङ सेन्टर दुवै कानुनविपरीत सञ्चालन भइरहेको पाइएको हो ।
युवाहरुलाई महँगो शुल्क लिएर तालिम दिएको भन्दै उजुरी परेपछि दुवै तालिम सेन्टरमा जिल्ला प्रशासन कार्यालयले गत चैत्र २ गते आकस्मिक अनुगमन गरी कागजात नियन्णमा लिएको थियो ।
प्रशासनले लामो समय लगाएर दुवै तालिम केन्द्रका कागजपत्र अनुसन्धान गरी दुवै गैरकानूनी रुपमा सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो ।
कोरियन भाषा प्रशिक्षणको अनुमति सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशबाट लिनुपर्ने, तर सम्बन्धित मन्त्रालयले अनुमति लिएको छैन भनी जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ ।
सीप विकास तालिम सञ्चालन गर्ने संस्थाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) बाट तालिम सञ्चालनको अनुमति लिनुपर्नेमा नियामक निकायले पनि अनुमति लिएको छैन भनी पत्र पठाएको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
कार्यालयले दुवै संस्था अवैध रहेको पाएपछि प्रचलित कानून बमोजिम जो जे गनुपर्ने हो गर्नुहुन भनी दुवै नियामक निकाय सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र सीटीइभीटी भक्तपुरलाई पत्राचार समेत गरेको छ ।
कान्तिपुर टेक्निकल कलेजका नाममा कृष्ण रार्इले सञ्चालन गरिरहेको संस्था ब्रिजकोर्स तथा भाषा शिक्षण तथा कक्षा सञ्चालन सम्बन्त्री निर्देशिका २०७९ बमोजिम भाषा प्रशिक्षण अनुमति लिनुपर्ने हुन्छ ।
प्रदेश मन्त्रालयबाट यस्तो अनुमति नलिइ उक्त कलेजका नामबाट विद्यार्थीलाई भाषा प्रशिक्षण दिइएको थियो । यस्तै, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी पान नम्बरको भरमा इन्सिच्युटले बार्षिक रुपमा करोडौं रुपैयाँ विद्यार्थीहरुबाट शुल्क लिइरहेको छ । यसको लागि मुल्य अभिबृद्धि करमा दर्ता गरी कारोबार गर्नुपर्नेमा यस्तो देखिएको छैन ।
उता, सुरेन्द्रकुमार राईले सञ्चालन गरेको एस स्कील ट्रेनिङ सेन्टरले समेत सीटीइभीटीबाट सम्बन्धन वा अनुमति नलिएको पाइएको छ ।
राईले साझेदारी गरेको भनिएको झापाको मुस्कान इन्जिनियरीङ एण्ड टेक्निकल इन्स्टिच्युट प्रालि विर्तामोडले समेत छोटो अवधिको मात्र एसिसेन्ट वेल्डर र मेटल वर्क हेल्पर तालिम सञ्चालनको अनुमति लिएको पाइएको छ ।
यस्तो तालिम सञ्चालन गर्दा सम्बन्धन लिएको वा अनुमति लिएको ठाउँमा मात्र तालिम सञ्चालन गर्न पाइन्छ । सीटीइभीटीसँग भएको सर्तनामामा मोबाइल वा साझेदारी वा शाखामा तालिम सञ्चालन गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ ।
कोरिया गएर पानी जहाज बनाउन काम पाइने आशले इलामका धेरै युवा फलाम जोड्न वाइल्डिङ तालिम लिइरहेका छन् । इलाममा सुरेन्द्र राईले उनीहरुलाई जनही ९१ हजार एक सय रुपैयाँ अग्रीम शुल्क लिएर तालिम दिइरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कोरियन भाषा कक्षा र तालिम दिएका संस्थाले गैरकानूनी रुपमा संचालन गरिएको पाइएकोले नियामक निकायलाई कारबाहीका लागि अनुरोध गरिएको बताए ।
प्रशासनले लामो समय लगाएर यी संस्थाको वैधताबारे अनुसन्धान गरेको थियो । उनीहरुलाई पत्र काटेर अनुमति लिन भनिएको छ ।
Discussion about this post