झापा । झापाको वुद्धशान्ति निवासी शेरबहादुर सुहाङ्ग बेपत्ता बनेका छन् । उनी तीन दिनदेखि बेपत्ता बनेका हुन् ।
भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका उनी वैशाख ३१ गते रातिदेखि बेपत्ता भएका हुन् । बुद्धशान्ति गाउँपालिका– ४ निवासी उनी ३३ वर्षीय रहेका छन् । उनी बेपत्ता बनेसँगै उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् ।
बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्टाचारको विरोधमा ¥याली निकालेको थियो । सोही ¥यालीको समर्थनमा उनले फेसबुकमा स्ट्याटस लेखेका थिए । स्ट्याटस लेखेको विरोधमा वैशाख ३१ गते राति ८–९ जनाको समूहले हत्या गर्ने धम्कीसहित उनको घर पुगेको थियो ।
आफ्नो घर घेराउ हुँदा शेरबहादुर भने साथी कुलबहादुर गौतमसँग बाहिर थिए । खोजी गर्दै घरमा पुगेको टोलीले उनलाई नभेटेपछि घर तोडफोड गरी फर्किएको खम्बबहादुरले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् । सोही रातदेखि बेपत्ता भएका सुहाङ्ग अझै नभेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको बताए ।
Discussion about this post