काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज क्लबले शीर्ष स्थानमा ४ अङ्कको स्पष्ट अग्रता बनाएको छ।
नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि दाबेदारीमा शीर्षता कायम राख्दा अन्य खेलमा त्रिभुवन आर्मी क्लब एफसी खुमलटारसँग बराबरीमा रोकियो भने हिमालयन शेर्पाले एपिएफलाई पराजित गर्यो।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा चर्च ब्वाइजका लागि पहिलो हाफमा मिलन राईले गरेको एक मात्र गोल निर्णायक बनेको थियो। उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए। पुलिसले पनि केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न असफल भयो।
जितसँगै चर्च ब्वाइजले शीर्षस्थानमा अङ्क तालिकामा ४ अंकको अग्रता लिन सफल भएको छ। उसको १९ खेलबाट ३६ अंक भएको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबको ३२ अंक रहेको छ। पराजित पुलिस १९ खेलबाट २२ अंक जोडेर ११औं स्थानमा छ।
त्यस्तै शुक्रबारनै भएको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै १९ खेलबाट २५ अंक जोडेर सातौं स्थानमा उक्लिन सफल भयो। पराजित एपिएफ २२ अंक जोडेर १२औं स्थानमा छ।
हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले समान एक-एक गोल गरे। एपीएफका लागि सनिश श्रेष्ठ र युवराज खड्काले एक-एक गोल फर्काएका थिए।
त्यस्तै दिनको अर्को खेलमा एफसी खुमलटार र विभागीय त्रिभुवन आर्मी क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आर्मीका जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे।
आर्मीले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो। बराबरीसँगै आर्मीको १९ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा यथावत छ। खुमलटार १९ खेलबाट १८ अंक जोडेर पुछारमा छ।
Discussion about this post