विराटनगर । मोरङको सुनवर्षीमा भारतीय ब्राण्डको भनेर झुक्याउँदै स्थानीय धानलाई बीउका रूपमा बिक्री गर्ने गरिएको छ ।
भारतीय ब्राण्डको स्टिकर लगाएको बोरामा ‘प्याकिङ’ गर्दै स्थानीय स्तरमा उत्पादन भएको धानलाई बीउका रूपमा कृषकलाई बिक्री गर्ने गरिएको हो ।
उत्पादन राम्रो दिने भएकाले भारतीय ब्राण्डको बीउमा कृषक आकर्षित हुन्छन् । त्यसको फाइदा उठाउँदै गिरोहले स्थानीय स्तरमा उत्पादित धानलाई भारतीय भनेर ब्राण्डिङ गर्दै झुक्याएर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
सुनवर्षी नगरपालिका–९ साहु टोलका रविनकुमार साहको घरमा स्थानीय धानलाई बोरामा ‘प्याकिङ’ गरेर भारतीय ब्राण्डको भन्दै कृषकलाई बिक्री गर्ने गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर चन्द्रबहादुर खड्का नेतृत्वको टोलीले आइतबार दिउँसो रविनको घरमा छापा मारेको थियो ।
प्रहरीले छापा हान्दा रविनले भारत कोलकाताको प्यान सिड्स प्राइभेट लिमिटेड नामक कम्पनी उल्लेख गरिएको बोरामा सोही कम्पनीको स्टिकर टाँसेर स्थानीय धान ‘प्याक’ गर्ने गरिएको फेला परेको डीएसपी दाहालले बताए । त्यसैलाई भारतीय ब्राण्डको र उत्पादन राम्रो दिने बीउ भनेर कृषकलाई बिक्री गर्ने गरिएको उनको भनाइ छ ।
दाहालका अनुसार बोरा र स्टिकर कोलकाताबाटै ल्याइएको हो कि नेपालमै बनाइएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । रविनको घरबाट बोरा सिलाउन प्रयोग गरिने मेसिन र खाली बोरा तथा स्टिकरसमेत बरामद भएको छ । त्यसका आधारमा बोरा र स्टिकर पनि नेपालमै बनाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
डीएसपी दाहालका अनुसार रविनको घरबाट बोरामा ‘प्याक’ गर्न तयारी अवस्थामा राखिएको स्थानीय स्तरमा उत्पादित धान ८ सय ४५ किलो, बोरामा ‘प्याकिङ’ गरिएको तयारी धानको बीउ २ सय ७५ किलो र झोलामा ‘प्याकिङ’ गरिएको ३० किलो तथा कोलकाताको कम्पनीको नाम उल्लेख गरिएको स्टिकर १ सय ७५ पिस र जुटको खाली बोरा १ सय २३ पिस, बोरा सिलाउने मेसिन, प्यारासुट सिलाई धागोसमेत बरामद भएको छ ।
प्रहरीले सुनवर्षी–९ डाइनियामा विजयकुमार साहले सञ्चालन गर्दै आएको मुकेश खाद बीज भण्डार नामक पसलबाट कोलाकाताकै कम्पनीको नाम उल्लेख गरिएको बोरामा ‘प्याकिङ’ गरिएको ६ सय किलो धान बरामद गरेको छ । उक्त धान रविनकै घरमा ‘प्याकिङ’ गरेर कृषकलाई बिक्री गर्नका लागि विजयको पसलसम्म पु¥याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतीय ब्राण्डको बीउ भनेकाले आफूले रविनसँग किनेर कृषकलाई बिक्री गर्नका लागि ल्याएको विजयले बताएका छन् ।
‘भारतीय धानको बीउ उतै प्याक भएर नेपाल आउने हो । नेपालमा ल्याएर ‘प्याक’ गर्ने हैन,’ प्रहरी स्रोतले भन्यो, ‘रविनको घरमा छापा हान्दा कोलकाताको कम्पनीको नाम उल्लेख गरिएको खाली बोरा र स्टिकर फेला परेको छ । त्यसबाट स्थानीय स्तरमा उत्पादित धानलाई भारतीय ब्राण्डको भनेर बिक्री गर्ने गरिएको प्रष्ट हुन्छ ।’ प्रहरीका अनुसार यसरी झुक्याएर बेच्दा कृषकहरु मर्कामा परेका छन् ।
भारतीय ब्राण्डको भनेर धानको नक्कली बीउ बिक्री गर्ने रविन र उनकी पत्नी निशाकुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको छ । विजयका बारेमा थप बुझ्ने र घटनाका सम्बन्धमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी दाहालले बताए ।
Discussion about this post