एजेन्सी । स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले पुन हार बेहोरेको छ । गयराति बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित भयो। बार्सिलोना यस अघि स्पेनकै अर्को क्लब रियल सोसिडाडसँग २–१ ले पराजित भएको थियो । उपाधि जितिसके पछिको बार्सिलोनाको यो लगातार दोस्रो हार हो ।
भालाडोलिडको घरेलु मैदानमा मङ्गलवार राति भएको खेलमा रियल भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले गोल गरे । एक गोल भने बार्सिलोनाले उपहार दिएको थियो । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाका डिफेण्डर आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोलबाट रियल भालाडोलिडले अग्रता बनाएको थियो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
२२औँ मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० ले अघि बढाए । गोन्जालो प्लाटालाई पेनाल्टी बक्समा एरिक गार्सियाले फउल गरेपछि रेफ्रीले भालाडोलिडलाई पेनाल्टी दिएको थियो ।
पछि खेलको ७३औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गरे । भालाडोलिड ३–० को फराकिलो अग्रता बनाउन सफल भयो । खेलको अन्तिम समय अर्थात् ८४औँ मिनेटमा बार्सिलोनाका स्टार लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो । लेवान्डोस्कीले फ्रान्की डि जोङको पासमा गोल गरेका थिए ।
च्याम्पियन बनिसकेको बार्सिलोनाले हार बेहोरेका दुबै खेलमा लेवान्डोस्कीले गोल गर्न सफल भए । गोल सङ्ख्याका आधारमा उनी रियल म्याड्रिडका करिम बेन्जमा भन्दा ६ गोलले अघि छन् । अब लिगमा बार्सिलोनाले २ तथा रियल म्याड्रिडले ३ खेल खेल्न बाकी छ । हालसम्मको नतिजालाई हेर्दा बार्सिलोनाका लेवान्डोस्कीले पिचिचि अवार्डमा आफ्नो नाम सुरक्षित बनाउँदै लगेका छन् ।
Discussion about this post