विराटनगर । कोसी प्रदेशमा सांसद र संसदीय समितिका सचिवहरुलाई दिने भनिएको ल्यापटप खरिद प्रक्रिया रद्द गरिएको छ ।
प्रदेशसभा सचिवालयको मंगलबारको बैठकले खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सचिवालयको बैठकले बोलपत्र रद्द गरेको जानकारी दिए ।
सांसद र संसदीय समितिका सचिवहरुलाई १–१ वटा ल्यापटप दिने भन्दै प्रदेश सरकारले रकमान्तर गरेर बजेट विनियोजन गरेको थियो ।
सरकारको यो कदमको व्यापक विरोध भएको थियो । कतिपय सांसदहरुले नै यसको विरोध गरेका थिए ।
प्रदेशसभा सचिवालयले सयवटा ल्यापटप खरिद गर्न टेण्डर आह्वान गरेर प्रक्रिया अगाडि बढाएको थियो ।
नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ल्यापटप नलिने निर्णय गरेका थिए ।
‘प्रवक्ता अमात्यका अनुसार ठूला राजनीतिक पार्टीले संसदीय दलबाट निर्णय गरेर खरिद प्रक्रिया रद्द गर्नुपर्ने माग सचिवालयसँग राखेका थिए ।
आर्थिक वर्षको अन्त्यतिर बजेट रकमान्तर गरेर प्रदेशका सांसद र संसदीय समितिका सचिवहरुलाई ल्यापटप दिन भन्दै प्रदेश सरकारले १ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो ।
९३ जना सांसद र ७ वटा संसदीय समितिका सचिवलाई ल्यापटप वितरण गर्ने तयारी थियो ।
Discussion about this post