विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाको मुख्य उत्पादन नगदेबाली अलैँची यो आर्थिक वर्षको नौ महिनामा ६ अर्बको निर्यात भएको छ ।
पूर्वी पहाडी जिल्लासहित नेपालका ४२ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६ अर्ब रुपैयाँको अलैँची निर्यात भएको हो ।
यो वर्ष अलैँचीको मूल्य प्रतिकिलो नौ सय रुपैयाँसम्म पुगेको छ । २०७३ सालमा किलोको दुई हजार रुपैयाँ थियो ।
२०७४ सालमा प्रतिकिलो २४ सय रुपैयाँसम्म पनि पुगेको थियो ।
भन्सार विभागको तथ्यांकले यो आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नेपालबाट ७८ लाख ७१ हजार किलो अलैँची निर्यात भई ६ अर्ब ३५ करोड रुपैयाँ भित्रिएको देखाएको छ ।
नेपालमा उत्पादित अलैँची सिँधै तेस्रो मुलुक जान सक्दैन । नेपाल सरकारले अलैँचीको मूल्य पनि तोक्दैन । जसका कारण भारतीय व्यापारीले जति पैसा दिन्छन् किसानले त्यतिमै बेच्न बाध्य छन् ।
अलैँचीको व्यापारका लागि भारतीय बजारमा निर्भर हुनु परेको ताप्लेजुङ अलैँची जोनका अध्यक्ष बालमणि बराल बताउँछन् ।
नेपालबाट भारत हुँदै पाकिस्तान, कतार, साउदी, कुवेत लगायतका मुलुकमा पुग्ने नेपाली अलैँची उत्पादनमा खासै ह्रास आएको छैन ।
हिमाली र पहाडी जिल्लाका कुना(कुनामा पनि खेती विस्तार भएको छ । तर मूल्यमा आएको गिरावटका कारण न किसान सन्तुष्ट छन् न त राज्यलेनै ठूलो रकम भित्र्याउन सकेको छ ।
२०७२/७३ मा ताप्लेजुङ जिल्लाले ६ अर्बभन्दा माथिको आम्दानी गरेको अलैँची किसान भीम गुरुङ बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारले भारतसहित अन्य देशमा पनि डाइरेक्ट अलैँची निर्यात गर्ने नीति बनाइदिएदेखि आज पनि त्यो दाम आउँछ भन्ने आशा छ ।’
Discussion about this post