प्रकाश तिम्सिना/इटहरी
एभरेष्ट बैंक शाखा कार्यालय इटहरीबाट रकम हिनामिना गर्ने मुख्य योजनाकार निरज प्रधान रहेको खुलेको छ । पक्राउ परेका ९ जनाले जिल्ला अदालतमा दिएको पहिलो चरणको बयानमा ३३ जना ग्राहकको एक करोड ५० लाखभन्दा बढी रकम हिनामिना गर्नेमा मुख्य भूमिका प्रधानको रहेको खुलेको हो ।
बयानका क्रममा निरजले आफूले गरेको योजनाबारे समेत खुलाएका छन् । त्यस्तै अन्य ८ जनाले निरजकै कारण आफूहरु फन्दामा परेको बयान दिएका छन् । उनीहरुले कम्प्युटरको युजर आइडी र पासवर्ड दुरुपयोग गरी सार्वजनिक बिदाका दिन र कार्यालय समयभन्दा अरु समयमा रकम झिक्ने गरेको बताएका छन् ।
उनले शाखामा कर्मचारीलाई हातमा लिएर कम्प्युटरको युजर आइडी पासवर्ड दुरुपयोग गरी कनेक्ट आइपिएसबाट सार्वजनिक विदाका दिन रकम निकालेका थिए ।
१४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अबधिमा ५९ पटकमा ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड १४ लाख ७५ हजार दुई सय ८४ रुपैयाँ झिकेका थिए ।
ग्राहकलाई थाहै नदिई कोर बैंकिङ सिस्टम (सिविएस) दुरुपयोग गरी निस्क्रिय खातालाई सक्रिय बनाई चेकबुक प्रिन्ट गरी चेक तथा भौचर मार्फत् खातावालाहरुको दस्तखत किर्ते गरी विभिन्न मितिमा ३५ लाख ४८ हजार १५० रुपैयाँ हिनामिना गरेको घटना बाहिरिएको थियो ।
निरजले इटहरी शाखामा कार्यरत् हुँदा आफैं रकम झिके भने सरुवा भएर गाईघाट जाँदा अन्य कर्मचारीलाई प्रयोग गरी रकम झिकिरहे । उनी अनलाईन जुवा तथा बेटिङमा रकम फसाउने गरेको प्रहरीले बताएको छ ।
घटनाका मुख्य योजनाकार प्रधान रहे पनि उनको गत १२ मार्च २०२३ मा उदयपुरको गाईघाट शाखामा सरुवा भएको थियो । उनको सरुवा भएपछि पनि इटहरी शाखामा रहेका कर्मचारीले ग्राहकको कीर्ते हस्ताक्षर गरेर नक्कली चेकबुक बनाएर ३५ लाखभन्दा बढी रकम हिनामिना गरेपछि घटना थप रहस्यमय बन्दै गएको छ ।
निरजलाई प्रहरीले अनुसन्धानका क्रममा गत चैत १२, २०७९ मा बैंकको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका निरजले विगत ५ वर्षदेखि शाखाको अपरेशन इन्चार्जको जिम्मेवार सम्हाल्दै आएका थिए ।
कुनै पनि ग्राहकले कनेक्ट आइपिएसबाट रकम झिक्नु परे वा रमान्तर गर्नुपर्ने सबै जानकारी निरजलाई हुने गथ्र्याे । त्यसैको फाइदा उठाएर निरजले रकम हिनामिना गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले घटनाको मुख्य योजनाकार प्रधान रहेको बताए । उनले निरज इटहरीमा हुँदा पनि रकम झिकेका र गाईघाट सरुवा भएपछि पनि ग्राहकको रकम हराएपछि अन्य ८ जनालाई पक्राउ गरिएको बताए । बयानका क्रममा अन्य ८ जनाले पनि निरजकै कारण यो घटना भएको बताएको प्रहरी नायव उपरीक्षक राईले बताए ।
विराटनगर ८ का ३४ वर्षीय निरजलाई २०७९ चैत १२ गते पक्राउ गरिएको थियो । यस्तै, सिन्धुपाल्चोकको साबिक बाह्रबिसे गाविस ८ घर भएका इटहरी शाखा प्रमुख ४२ वर्षीय विश्वराज शाक्य, काठमाडौं घर भएका इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा पनि पक्राउ परेका छन् ।
चेकबुक कीर्ते गरी ग्राहकको रकम हिनामिना गर्ने समूहमा संलग्न रहनेमा भोजपुरको षडानन्द नगरपालिका ९ घर भएका इटहरी शाखामा कनिष्ठ कर्मचारी २७ वर्षीय मनोज घिमिरे, सुनसरीको इटहरी ७ का २७ वर्षीय देवराज शर्मा, सुनसरीकै साविकगाविस अमाहिबेला ९ का २७ वर्षीय रंजित पण्डित र इटहरी २ की ३० वर्षीय इटहरी शाखा टेलरमा कार्यरत पवित्रा कटुवाल पनि पक्राउ परेकी छन् ।
रकम हिनामिना गर्न निरजलाई सहयोग गर्ने धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजु पनि पक्राउ परिसकेका छन् । उनीहरुमाथि बैंकिङ कसुर र संगठित अपराधनिवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post