विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा संघीय संरचनाका तीनैवटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको बताएका छन् ।
१६औँ गणतन्त्र दिवस अवसरमा शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेको उनले दाबी गरेका छन् ।
सानातिना कुरालाई आधार मानेर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी प्रयासहरु अनुचित भएको उनले भनाइ छ ।
गणतन्त्र स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको उल्लेख गर्दै भौतिक विकासतर्फ भएको प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयासहरु, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाति, वर्ग र क्षेत्रलाई राज्यको मूल प्रवाहमा ल्याउन भइरहेका प्रयासहरु गणतन्त्रकै प्रतिफल रहेको उनले उल्लेख गरेका छन् ।
पहाडी क्षेत्रको बढ्दो बसाइँ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पूँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहना अनुसारको शासकीय सुधार प्रमुख चुनौतिका रुपमा देखा परेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, नागरिक समाज एकजुट भएर साझा चुनौतीविरुद्ध लड्न उनले आवहान पनि गरेका छन् ।
Discussion about this post