विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई हिंसा त्याग्न आग्रह गरेका छन् ।
हिंसात्मक गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने भन्दै उनले आफ्ना गतिविधिलाई शान्तिपूर्ण बनाउन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।
१६औँ गणतन्त्र दिवस अवसरमा सोमबार बिहान प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधर निरन्तर आन्दोलित छन् । उनीहरुले ऐतिहासिक पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने बताउँदै अहाएका छन् ।
‘अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौं । छैटौं वर्षमा प्रवेश गरेपछि प्रदेशले नाम पाएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसप्रति विमति हुँदा आफ्ना मागलाई शान्तिपूर्ण हिसाबले राख्दा हुन्छ । वार्ता र संवादका माध्यमबाट समस्याको समाधान निकाल्न सकिन्छ ।’
नामकरणमा चित्त नबुझे आगामी निर्वाचनबाट जनमत ल्याएर त्यसलाई परिवर्तन गर्न सकिने उनले उल्लेख गरे । आन्दोलनरत पक्षले उठाएको मागप्रति सरकार संवेदनशील रहेको बताउँदै उनले हिंसात्मक गतिविधि त्याग्दै मर्यादामा रहेर आफ्ना गतिविधि गर्न पहिचान पक्षधरलाई आग्रह गरे ।
आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीहरु घाइते भएका छन् । पछिल्लो पटक आइतबार भएको विराटनगरकेन्द्रीत आन्दोलनमा पनि झडप हुँदा दुवै पक्षका घाइते भएका थिए ।
मुख्यमन्त्री कार्कीले आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारी र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
Discussion about this post