इटहरी । सोमबार दिउँसो इटहरीमा अलिक भिन्न कार्यक्रम देखियो । नेपाली कांग्रेसले आयोजना गरेका अक्सर कार्यक्रममा वक्ता धेरै हुने, अगाडिको सिटमा वक्ता बढी र तलतिर स्रोता, दर्शक कम हुन्थे । तर, सोमबार भने दर्शकदीर्घमै बसेका कांग्रेस नेताहरू आँफूले बोल्नेभन्दा पनि सुन्न चाहे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले ‘लोकप्रियतावादको लहडकाबीच नेपाली कांग्रेसको अबको यात्रा’ विषयक विचार गोष्ठीमा करिब दुई घण्टा विचार व्यक्त गरे । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. रिजालले लोकतन्त्रमा विभिन्न विचारको कदर गर्नुपर्ने तर्क गरे । पूर्व रक्षा तथा सूचनामन्त्री समेत भइसकेका उनी गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि विभिन्न विचार र बहसमा सहभागी हुँदै आएका छन् । डा. रिजालले कार्यकर्ताहरूको सुझाव र प्रश्नको जवाफ पनि दिएका थिए ।
‘अहिलेको समाजमा रहेका निराशालाई, चाहना पूरा नभएकाहरूलाई समेटेर व्यवस्था नै उल्टाउन खोजिदैँछ,’ रिजालले भने, ‘यसका विरुद्व कांग्रेस कडा रूपमा प्रस्तुत हुन्छ ।’
उनले भीडसँग जोडिएर भन्दापनि भीडसँग जोगिएर काम गर्न सुझाव दिए । ‘हामीलाई आजको दिनमा तत्कालको कुरा आवश्यक छ । हामीहरू मेस्सीको जस्तो आनन्दको जीवन अहिल्यै चाहियो भनिरहेका छौँ, पर्खिने कुरै छैन,’ उनले भने, ‘आज किताब पढेर होइन, किताबका पन्ना पल्टाएर विचार निर्माण गरिरहेका छौं, अबको समाजमा हामीले भीडसँग जोडिएर भीडमा म पनि छु भन्ने होइन, भीडसँग जोडिएर काम गर्न आवश्यक छ ।’
वर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको लडहले कांग्रेस पार्टीबाट आम जनता निराश भइहाल्नुनपर्ने उनले बताए । उनले भने, ‘आजसम्म रास्वपाले भनेको कुरा के भने हिजोका पार्टीले चलेन मात्रै भनिरहेको छ । रास्वपाको विचार के हो थाहा छैन । आज पनि जनाधार खुम्चदै जाँदा देशभर कांग्रेस ठूलो पार्टी छ । चुनौती स्वीकारेर काम गर्नुपर्ने कुरा कांग्रेसले बुझेको छ ।’ यद्यपि, अहिलेको परिस्थितिमै मात्र पनि देश निर्माण नहुने र नेतृत्व तहले सबक सिक्न आवश्यक रहेको उनको भनाइ छ ।
‘अब आउने चुनाव सम्ममा प्रसस्तै कांग्रेस बदल्ने अवसर छ,’ उनले भने, ‘अहिलेकै नेतृत्वमा अनुभव र नयाँ प्रयोग गर्न सक्ने चाहना भएको पार्टी कांग्रेसको जस्तो कुन पार्टी छ ?’ उनले कांग्रेसमा अनुभव पनि भएका र नयाँ विचार पनि भएका व्यक्तिहरू भएका कारण पनि आगामी दिनमा सच्चिएर जाने बताए ।
‘हामीकहाँ मात्रै होइन, दुनियाँभरी लोकप्रियतावादको राजनीति छ । हाम्रो कन्टेक्समा भन्ने हो भने केपी ओलीका अरिङ्गालहरू लोकप्रियतावादमा छन्,’ उनले भने, ‘मैले अस्ति चुनाव पछाडि वर्तमान प्रधानमन्त्रीसँग कुरा गरेँ । प्रचण्ड जी ०६४ सालमा १२० सिट ठाउँमा चुनाव जित्नुभयो । त्यसबेला तपाईंको पार्टीले जितेको सिट कांग्रेस र एमालेको भन्दा बढी थियो । तपाईँलाई राष्ट्रनायक भनियो । अहिले तपाईं निरन्तर ओरालोको बाटोमा हुनुहुन्छ, के अहिले पनि तपाईँ राष्ट्रनायक प्रचण्ड नै हो त ?’
अहिले उदाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अरिङ्गालको गोलो रहेको उनको टिप्पणी छ । ‘म कसैको राजनीति तल पार्न खोजिरहेको छैन । आफ्नो मात्रै विचार बोकेर बसेको मानिस अर्को दलको विचार स्वीकार्न तयार छैन । हाम्रै पार्टीमा गुट, उपगुट छ । गुट, उपगुट भन्दा चित्त नबुझे, समूह, उपसमूह छ । मैले फेसबुकमा केही लेखेँ भने मेरै समूहको साथीले पनि अझै सबक सिकेको छैन भन्ने हुन्छ । हामीकहाँ पनि अरिङ्गालको गोलो त छ,’ उनले भने, ‘महामन्त्रीमा पराजित भएको कुन्ठा सकिएको छैन भन्छन्, कतिपय साथीहरूले । अघिल्लो पटक चुनाव जित्दा यसपटक चुनाव लड्न पाइन भन्ने कुरा पनि साथीहरूले गर्छन् । मलाई कसैप्रति रिसराघ छैन, जसले बोलाए त्यसबेला चुनावमा गएर बोलेँ । मेरै क्षेत्रमा बोलाइएन, म गइन । नबोलाएको ठाउँमा जानुहुँदैन । मेरो क्षेत्रमा म नजाओस् जस्तो गरियो, त्यसैले गइँन ।’
अहिले आँफूले अध्ययन, चिन्तन र मनन गरिरहेको उनले बताए ।
‘अहिले हामीहरू बिहान उठ्यो फेसबुक, ट्विटर, म्यासेन्जर, टिकटक, इन्स्ट्राग्राम र भाइबरमा अलमलिरहेका छौं । एउटाले गरेको कुरा चित्त बुझ्दैन । चित्त नबुझ्दा आलोचना गरिहाल्ने । यो क्रम चलिरहन्छ । हाम्रो दिनचर्या यही हो । बेलुका फेसबुक हेर्नेमात्र गरिरहेका छौँ,’ रिजाल भन्छन्, ‘समाचार सुन्ने भन्दा सामाजिक सञ्जालमै चर्को कुरा गरेको हेर्ने बानीको विकास भइरहेको छ । नुन, खोर्सानी अरु मसला पुगेन भनेर तिहुन खान्छौँ । अहिले ईन्टरनेटको दुनियाँमा तपाईंको जीउमा मेरो टाउको हालिदिन्छन् । बोल्दै नबोलेको कुरा फोटो र भिडियो क्रियट गरेर फेक भिडियो बनाउनेतर्फ समाज उन्मुख भइरहेको छ ।’ वर्तमान अवस्थामा मानिसहरू आफ्नो मात्रै सोच बनाएका र पृथक विचार सुन्न तयार नहुने उनको तर्क छ ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कांग्रेसभित्र पनि लोकप्रियतावादको लहड चलेको टिप्पणी गरे । ‘लोकप्रियताको लहडमा भित्री बोतलमा लोकल रक्सी र बाहिर ब्रान्डेड टाँस भएजस्तो अवस्था छ,’कोइरालाले भने ।
केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान केन्द्रीय सभापति राजीव ढुंगानाले अहिले जनताले कांग्रेसको कार्यशैलीमा परिवर्तनको आशा राखेको बताए । ‘कतिपय मानिसहरू कन्टेन्ट भन्दा पनि प्रस्तुतिमा रमाउन थालेका छन् । गुदी राम्रो नभएको तर बाहिरी राम्रो हुन खोज्दा समाज अर्को खाडलमा पर्न सक्ने संकेत देखिन्छ ।’
उनले वर्तमान अवस्थामा रास्वपाले लोकप्रियतावादको नाममा आँखामा पट्टी लगाउन खोजिएको टिप्पणी गरे । कृत्रिम लोकप्रियतातर्फ समाज उन्मुख भएकाले पनि कांग्रेस कार्यकर्ता सचेत हुनुपर्ने उनको तर्क छ ।
सुनसरी सभापति केदार भण्डारी,महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व उपसभापति विकास केसीले आम जनतामा निराशा छाएपनि यस्ता किसिमका कार्यक्रमले जनतामा कांग्रेसप्रति आशा जगाउने बताए ।
कार्यक्रममा सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान राईले सधैंभरी एकै किसिमको कार्यक्रम भन्दा पनि फरक ढंगबाट कार्यक्रम आयोजना गरिएको बताए । ‘लोकप्रियतावादमा अगाडि बढ्दा समाज कस्तो बन्छ भन्ने चित्रण गर्न पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।
कार्यक्रममा विभिन्न ठाउँबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । सुनसरी क्षेत्र नं. २ (क) का सचिव चिन्तामणी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Discussion about this post