विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आर्थिक मन्दीको चपेटामा परेको छ । मन्दीका कारण आर्थिक स्रोत जुटाउन समस्या हुँदा २ महिनाअघि सम्पन्न भएको गोल्डकपले ठूलो घाटा बेहोर्नु परेको छ ।
विगतका गोल्डकप प्राय: नाफामा हुन्थे । पछिल्लो समय गत चैत ९ देखि १६ गतेसम्म विराटनगरको शहीद रंगशालामा आयोजित गोल्डकपले भने लाखौं रूपैयाँ घाटा सहनु परेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोसी प्रदेशकै पहिचानलाई विस्तार गरिरहेको गोल्डकपले ८७ लाख १ हजार ४८ रूपैयाँ नोक्सान बेहोरेको विराट गोल्डकप ट्रष्टले जनाएको छ । ट्रष्टले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरेर गोल्डकपको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।
गोल्डकपका सहसंयोजक शुभाशिष कोइरालाका अनुसार प्रतियोगितामा १ करोड ३३ हजार १ हजार रूपैयाँ आम्दानी र १ करोड ८७ लाख ३४ हजार १ सय ४८ रूपैयाँ खर्च भएको छ । खुद घाटा ८७ लाख १ हजार ४८ हजार रूपैयाँ भएको जानकारी उनले दिए । घाटा रकम सहसंयोजक कोइराला आफैँले बेहोर्ने भएका छन् ।
प्रतियोगिता संचालनका लागि विराटनगर महानगर, कोसी प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट १२–१२ लाख सहयोग प्राप्त भएको उनले बताए । त्यसबाहेक मुख्य प्रायोजकबाट ८ लाख, प्रायोजकबाट ४ लाख, सहप्रायोजकबाट ४ लाख र पार्टनर प्रायोजकबाट ६ लाख ७५ हजार तथा टिकट बिक्रीबाट ४१ लाख ५८ हजार १ सय रूपैयाँ आम्दानी भएको कोइरालाको भनाइ छ ।
आयोजक विराटनगर सीटी फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो । उसले २० लाख १५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पायो । उपविजेता बनेको विदेशी पाहुना टोली भारतको लुका सकर क्लब केरलाले १० लाख ५१ हजार तथा ट्रफी र प्रमाणपत्र पायो । प्रत्येक दिनको खेलको म्यान अफ दी म्याचलाई ११ हजारसहित प्रतियोगिता अवधिभरको उत्कृष्ट ८ विधाका खेलाडी, टिम र प्रशिक्षकलाई २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको जानकारी कोरालाले दिए ।
पहिलोपटक विराटनगर महानगरपालिकाको संयोजकत्वमा रात्रिकालीन प्रतियोगिता आयोजना गएिको थियो । महानगरका मेयर नागेश कोइराला प्रतियोगिताको संयोजक थिए । मेयर कोइरालाले आर्थिक मन्दीका कारण उद्योग, व्यापार र व्यवसायबाट आर्थिक स्रोत जुटाउन कठिनाइ भएको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का सहमहासचिव वसन्त अर्यालले विराट गोल्डकप विराटनगर र कोसी प्रदेशकै सम्पत्ति भएको बताए । विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले घाटामा गएपनि गोल्डकपलाई सफल बनाउन व्यक्तिगत खर्च लगाउनु ठूलो कुरा भएको बताए ।
Discussion about this post