प्रकाश तिम्सिना । इटहरी
धरानमा करिब २ लाख जनसंख्याको बसोबास छ । हरेक दृष्टिकोणले भरिपूर्ण धरान पर्यटन तथा पूर्वी पहाडी जिल्लाको प्रवेश नाका पनि हो । सामान्यतया अरु पूर्वाधार पर्याप्त भए पनि धरानमा खानेपानीको दीर्घकालीन समाधान नहुँदा दिनप्रदिन समस्या विकराल बन्दै गएको छ ।
दैनिक ३ हजारभन्दा बढी बिरामी भर्ना हुने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले त खानेपानी अभावकै कारण एक साताका लागि पठनपाठन नै बन्द गरेको छ । यसरी बन्द गर्नुपर्ने अवस्था आएको प्रतिष्ठानको इतिहासमै पहिलो पटक हो । पुस महिना लागेयता पर्याप्त पानी नआउँदा धरानबासी कष्टकर दैनिकी बिताउन बाध्य छन् ।
घर छेउको धारामा कति बेलापानी खस्छ र जोहो गरौंला भनेर पानी भर्न भाँडा लिएर बसेकाहरु पानीको आस गर्दागर्दै थकित हुने गरेका छन् । खानेपानीको चरम अभाव भएपछि दिन बिराएर खानेपानी बोर्डले पानी वितरण गर्दै आएको छ । दिन बिराएर आउने पानी पनि आइनसक्दै मर्न थालेपछि स्थानीय खान, कपडा धुनदेखि नुहाउन समेत चर्काे मूल्यमा खरिद गर्न बाध्य छन् ।
धरान, शान्तिपथ घर भएकी नरमाया रोका पानी अभावका कारण चर्को समस्या परेको बताउँछिन् । ‘पिउन, लुगा धुन, नुहाउन केटाकेटीलाई पानी छैन’ उनी भन्छिन् ‘खानेपानी बोर्डले दिन बिराएर वितरण गर्ने गरे पनि हुनेखानेले हेप्छन्, हामी त हेरेको हेर्यै ।’
सोही ठाउँका रमेश बुढाथोकी पनि माघ लागेदेखि धरानको मुख्य क्षेत्रमा पानीको चरम अभाव रहेको बताउँछन् । वर्षायाममा उति समस्या नभए पनि हिउँदका ५ महिना चरम समस्या हुने गरेको उनको अनुभव छ ।
‘सुक्खा याममा धरान काकाकुलको सहरजस्तो हुन्छ’ बुढाथोकी भन्छन्, ‘भएको पानी समान वितरण गरे सबैले खान पाउने थिए तर यहाँ बोर्डले यस्ता कुरामा चासो देखाएको छैन ।’
रातको २–३ बजे पानी आयो भन्ने हल्ला हुन्छ । घरका भाँडा लिएर निस्कियो बिहानको १० बज्दा पनि पानी नआउने गरेको स्थानीय रुपेश मास्के बताउँछन् । उनले एसियाली विकास बैंक (एडीबी) र संस्थानको पानी वितरणमा समस्या रहेको बताउँदै समान रुपले वितरण हुनुपर्ने धारणा राखे ।
धरानमा दैनिक करिब ३ करोड लिटर खानेपानीको माग छ । भूमिगत १ करोड ५० लाख लिटर, सर्दु खर्दु सतहको थप ३० लाख लिटर खानेपानीको दैनिक आपूर्ति हुन्छ । आपूर्ति भएको पानी पाइप टुटफुट तथा लिकभएर खेर जाने गरेका कारण पानीको समान वितरण भएको छैन ।
अर्कातर्फ श्रमदानबाट ल्याएको खोलाको पानी समेत लामो समयको खडेरीका कारण सुकेपछि अभाव थपिँदै गएको छ । श्रमदानबाट पानी खुवाउने अठोट बोकेर अभियान चलाएका नगर प्रमुख हर्कराज राई श्रमदानबाट वर्षायाममा सहज भए पनि हिउँदमा पुरानै समस्या दोहोरिएको बताउँछन् ।
उनले धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सप्तकोशी नदीको बिकल्प नरहेको बताउँछन् । ‘हामीले श्रमदान गरेको धरानको दीर्घकालीन समाधान हैन, तत्काललाई केही सहज होस् भन्ने उद्देश्यले हो’ नगर प्रमुख राई भन्छन् ‘अबको ३०–४० वर्षसम्म अभाव हुन नदिनका लागि कोशीको विकल्प छैन ।’
धरानमा देखिएको पानी अभावबारे संघीय सरकारले समेत चासो देखाएको छ । सरकारको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने उल्लेख छ ।
Discussion about this post